नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली बजारमा राहत तथा स्वास्थ्य सेवा लिएर पुगेकी काउन्सेलर तथा मानसिक स्वास्थ्यकर्मी गीताञ्जली भट्टराईले प्रभावित क्षेत्रको अवस्था बाहिर देखिएभन्दा निकै गम्भीर रहेको बताएकी छिन् ।
सपोर्टिङ मेन्टल वेलनेस इन स्कुल एन्ड रिहाब सेन्टर काठमाडौँमा कार्यरत उनी एचडीसीए इन्टरनेशनल एडको अस्पतालअन्तर्गतको मेडिकल तथा काउन्सेलिङ टोलीसँगै त्रिशूली पुगेकी हुन् ।
उनका अनुसार टोलीले त्रिशूली अस्पतालको समन्वयमा प्रभावित क्षेत्रमा मेडिकल सेवा र पीएएफए अर्थात् मनोवैज्ञानिक प्राथमिक सहायता प्रदान गरिरहेको छ। हाल टोलीले त्रिशूली अस्पतालको समन्वयमा चारवटा सेल्टरमा बसेर राहत तथा मनोसामाजिक सहयोग गरिरहेको छ।
भट्टराईले प्रभावित क्षेत्रको अवस्था अत्यन्तै नाजुक र भयावह रहेको बताएकी छिन् । विद्युत्, खानेपानी, फोन नेटवर्क र इन्टरनेटको सुविधा नरहेको तथा ठाउँ–ठाउँमा बेवारिसे शव भेटिएको उनको भनाइ छ।
‘शव कुहिएर आएको दुर्गन्धले वातावरण निकै प्रदूषित भएको छ । कुकुर तथा अन्य जनावरले शव खाइरहेको हृदयविदारक अवस्था समेत देख्नुपरेको छ,’ उनले भनेकी छिन्।
आफ्नो टोली जोखिमपूर्ण अवस्थाबीच पनि सुरक्षित रूपमा काम गरिरहेको उनले बताएकी छिन्। जुनसुकै बेला भाग्नुपर्ने अवस्था आउन सक्ने जोखिम रहे पनि प्रभावितलाई सहयोग गर्न टोली खटिरहेको उनको भनाइ छ।
‘राहत भनेको दाल–चामल मात्रै होइन’
भट्टराईले राहत वितरणको वर्तमान शैलीप्रति प्रश्न उठाउँदै दाल–चामल मात्रै वितरण गरेर विपत्तिपछिको समस्या समाधान नहुने बताएकी छिन्।
कतिपय प्रभावितहरू सुरक्षित बसोबासको अभावमा एउटै कोठामा पुरुष, महिला र बालबालिकासहित अत्यन्तै असहज अवस्थामा बस्न बाध्य भएको उनको भनाइ छ । उनले सरसफाइ र व्यक्तिगत स्वच्छताको अवस्था पनि कमजोर रहेको बताइन् ।
कतिपय मानिसहरू एक सातादेखि एउटै कपडामा रहेको र नुहाउनसमेत नपाएको उनले उल्लेख गरेकी छिन्। ‘मानिससँग बस्ने सुरक्षित ठाउँ छैन भने दाल–चामल कहाँ राख्ने ? भिजेर, कुहिएर र म्याद सकिएर जाने सामग्री थुपारेर मात्र समस्या समाधान हुँदैन,’ भट्टराईले भनिन् ।
प्रभावित सेल्टरमा रहेका मानिसहरूमा झाडापखाला, बान्ता र पेट दुख्ने समस्या देखिन थालेको उनले जानकारी दिइन् । दूषित पानी, फोहोर, सरसफाइको अभाव र कुहिएका शवबाट फैलिएको दुर्गन्धका कारण थप स्वास्थ्य समस्या तथा महामारीको जोखिम बढेको उनको भनाइ छ।
त्यसैले प्रभावित क्षेत्रमा साबुन, खानेपानी, कपडा, सेनेटरी सामग्री, औषधि, अस्थायी शौचालय, सुरक्षित बसोबासका साथै स्वास्थ्य र मनोसामाजिक सहयोग तत्काल आवश्यक रहेको उनले बताइन् ।
‘बिदुरसम्म राहत देखाएर मात्र हुँदैन’
भट्टराईले अधिकांश राहत सामग्री बिदुरसम्म मात्र पुगेको आफूले देखेको बताउँदै बिदुरभन्दा टाढाका तथा पहुँच कठिन भएका बस्तीलाई पनि राहतको प्राथमिकतामा राख्न आग्रह गरिन् ।
‘बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्ने भीड धेरै छ। तर वास्तविक रूपमा टाढाका प्रभावित बस्तीमा राहत र आवश्यक सहयोग पुगिरहेको छ कि छैन भन्ने ठूलो प्रश्न छ,’ उनले भनिन् ।
विपत्तिमा परेका सबै नागरिकसम्म राहत पुग्न नसकेसम्म राहत वितरण भएको दाबीले वास्तविक समस्या सम्बोधन गर्न नसक्ने उनको भनाइ छ।
उनले बाढी प्रभावित क्षेत्रलाई बिदुर बजारसम्म मात्र सीमित गरेर हेर्न नहुने बताउँदै पहुँच पुग्न कठिन भएका बस्तीमा रहेका नागरिकको अवस्थाबारे तत्काल ध्यान दिन आग्रह गरिन् ।
‘दाल–चामल थुपारेर मात्र राहत हुँदैन। राहत भनेको मानिसलाई बाँच्न आवश्यक पर्ने सम्पूर्ण आधारभूत आवश्यकता सुरक्षित रूपमा पुर्याउनु हो,’ उनले भनिन् ।
अहिले प्रभावित क्षेत्रमा फोटो खिचेर राहत पुगेको देखाउनेभन्दा जहाँ आवश्यकता सबैभन्दा बढी छ, त्यहाँ पुगेर सहयोग गर्नु आवश्यक रहेको उनको भनाइ छ।
त्रिशूलीमा प्रत्यक्ष देखिएको अवस्थाले बाढीपछि उद्धारसँगै खानेपानी, सरसफाइ, स्वास्थ्य, सुरक्षित आवास र मानसिक स्वास्थ्यमा समेत तत्काल हस्तक्षेप आवश्यक रहेको देखाएको उनको भनाइ छ।












प्रतिक्रिया