एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा सशस्त्र समूहले गरेको आक्रमण विफल पारेको र त्यसक्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) का ४८ जना संदिग्ध लडाकु मारिएको दाबी गरेको छ ।
सेनाका अनुसार उत्तरपूर्वी बोर्नो र योबे राज्यमा रहेका सैन्य अखडालाई लक्षित गरी बिहीबार राति र शुक्रबार बिहान आक्रमण भएको थियो । दुवै आक्रमणलाई सेनाले जबाफी कारबाहीमार्फत विफल पारेको जनाएको छ ।
‘अपरेसन हादिन काई’ अन्तर्गत सञ्चालित संयुक्त कार्यदलका प्रवक्ता मोहम्मद गोनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा बोर्नो राज्यको ग्वाजा स्थानीय सरकारी क्षेत्रअन्तर्गत बिट्टा र योबे राज्यको बुनी यादीस्थित सैन्य अखडामा आक्रमण भएको उल्लेख छ ।
गोनीका अनुसार बोर्नोको बिट्टामा भएको आक्रमणलाई सेनाले हवाई सहयोगसहितको कारबाहीमार्फत नियन्त्रणमा लिएको थियो । त्यस्तै, बुनी यादीमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म भएको आक्रमणको जवाफमा सेनाले कारबाही गरेको थियो ।
कारबाहीका क्रममा एक सैनिकको मृत्यु भएको र दुई जना घाइते भएको सेनाले जनाएको छ । साथै, लडाकुबाट ५२ थान हतियार बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नाइजेरियाली सेनाले सशस्त्र समूहको गतिविधि र आक्रमण गर्ने क्षमता कमजोर पार्न सुरक्षा कारबाहीलाई निरन्तरता दिने जनाएको छ । समूहको सदस्य भर्ती, प्रचारप्रसार तथा आक्रमणको समन्वय गर्ने क्षमतामा समेत अङ्कुश लगाउने सेनाको भनाइ छ ।
आईएसडब्ल्यूएपी उत्तरपूर्वी नाइजेरियामा सक्रिय सशस्त्र समूह हो । बोको हरामसँगै यस समूहले नाइजेरियामा हिंसात्मक गतिविधि गर्दै आएको छ । यी समूहले लेक चाड क्षेत्रका अन्य देशमा समेत आक्रमण गर्दै आएका छन् ।














प्रतिक्रिया