काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको छ।
तिमल्सिनालाई मंगलबार बिहान करिब ११ बजे सादा पोसाकमा आएका प्रहरीले अनामनगरबाट ‘पार्टीका मान्छे हौँ, काम छ’ भन्दै नियन्त्रणमा लिएका थिए ।
उनलाई त्यसपछि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुर्याइएको थियो। सरकारको आलोचना गरेको भिडियोका कारण आफूलाई नियन्त्रणमा लिएको दाबी तिमल्सिनाले गरेकी छन्।
प्रहरीले आइन्दा सरकार विरोधी भिडियो नबनाउन चेतावनी दिँदै लिखित कागज गराएको उनले बताएकी छन्।
‘कुनै पनि भिडियो बनाउँदा गृह मन्त्रालयको अनुमति लिनुपर्ने भनियो,’ तिमल्सिनाले भनिन्, ‘प्रहरी कार्यालयमा लिखित कागज गराएर भर्खर छाडिएको छ।’
तिमल्सिना तत्कालीन नेकपाभित्र पनि माओवादीनिकट मानिन्छिन्। उनलाई पार्टीले गत २९ असोजमा जेन–जी रेडफोर्सको संयोजक बनाएको थियो। उक्त संगठनले देशभर सञ्जाल विस्तार गर्दै जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताइएको छ।
यस घटनापछि सामाजिक सञ्जालमा कतिपयले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाएका छन् । केहीले प्रहरी कारबाहीबारे जानकारी माग गरेका छन्। यसबारे प्रहरी केही बोलेको छैन ।













प्रतिक्रिया