काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट यात्रा सकाएको छ।
मंगलबार लाओस नेशनल स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपाल १–० ले पराजित भयो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले दोस्रो हाफमा गोल गर्यो। खेलको ४७ औं मिनेटमा लाओसका कप्तान बोउनफचान बोन्कोंगको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा उनको गोल निर्णायक बन्न पुग्यो।
त्यसपछि खेलमा फर्कन नसकेको नेपालले अन्तिम खेलमा पनि हार भोग्दै छनोट यात्रा सकाएको हो।
छनोटको पहिलो लेगमा नेपाल लाओससँग २–१ ले पराजित भएको थियो।
समूह चरणमा नेपाल मलेसियासँगको पहिलो लेगमा २–० र दोस्रो लेगमा १–० को हार व्यहोरेको थियो।
भियतनामसँग नेपाल पहिलो लेगमा ३–१ ले तथा दोस्रो लेगमा १–० ले पराजित भएको थियो।
नेपालले समूह चरणका सबै खेलमा हार भोगे पनि मलेसियाले नेपालविरुद्धको पहिलो लेगमा अयोग्य खेलाडी खेलाएपछि एएफसीको कारबाहीमा पर्दा नेपालले ३ अंक प्राप्त गरेको थियो।
मलेसियाली फुटबल संघले झूटा कागजात तयार गरी सात खेलाडीका लागि पासपोर्ट बनाएको ठहर गर्दै अनुशासनको कारबाही स्वरुप ५० हजार अमेरिकी डलर समेत जरिवाना गराएको थियो।
यस्तै,नेपालविरुद्धको २–० को जित र भियतनामविरुद्धको ४–० को जितको नतिजा समेत उल्टाएको थियो। सोही कारण नेपाल र भियतनाम दुवैले समान ३ अंक प्राप्त गरेका थिए।
नेपाल रहेको समूह एफ बाट भियतनाम अपराजित रहेर एसियन कपमा छनोट भएको छ। मलेसिया दोस्रो, लाओस तेस्रो र नेपाल अंक तालिकाको पुछारमा रहेर एसियन कप छनोट यात्रा सकाएका छन्।













प्रतिक्रिया