प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव



काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत भ्रमण जाँदैछन्।

भारतीय सत्तारुढ दलको निमन्त्रणामा सभापति लामिछाने अन्य नेताहरूसहित भारत जान लागेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका एक सदस्यका अनुसार भारत भ्रमणका लागि भाजपाले यसअघि नै निमन्त्रणा दिएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहलाई पनि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिएका छन् । तर उनी जान तयार भएका छैनन्।

‘उहाँ सरकारी होइन, भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमण जान लाग्नुभएको हो। केही दिन राजनीतिक अवस्था, वर्तमान परिस्थिति लगायतका विषयमा छलफल गर्नुहोला,’ पार्टीको एक सचिवालय स्रोतले भन्यो,‘सबै तयारी पूरा भएको छ। भोलि उहाँसहितको टोली भारत जान्छ।’

तर प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिका कारण रविको भारत भ्रमणमै प्रश्न उठेको छ। बालेनको अभिव्यक्तिले समस्यामा परेका रविलाई उनका केही सहयोगीले नजान पनि भनिरहेका छन् । रविको भ्रमणबारे अहिले भर्चुअल बैठकमा छलफल भइरहेको छ ।

को-को छन् टोलीमा ?

रविसँग उनका सहयोगी अविनाश आचार्य पनि जाँदैछन्। आचार्यसँगै रवि पत्नी निकिता पौडेल पनि भारत जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू बताउँछन्।

पार्टीका नेताका अनुसार सह-महामन्त्री विपिनकुमार आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा रविका विश्वासपात्र दीपक बोहरा पनि भारत जान लागेका छन्।

स्रोतका अनुसार भारत भ्रमणका लागि यी नेताहरूको टिकट बुक भइसकेको छ। पार्टी र रविको सचिवालयले दिएको जानकारीअनुसार भ्रमण करिब चार–पाँच दिनको हुने छ।

रवि निकट एक नेताले भने, ‘टिकट भइसकेको छ। पाँच जनाको मात्रै टिकट भएको जानकारी हामीलाई छ।’

प्रधानमन्त्रीको अभिव्यक्तिले रोकिन्छन्?

२०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले आइतबार पहिलोपटक प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिए।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमाबारे श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राखेको प्रश्नमा प्रधानमन्त्री शाहले विवादास्पद अभिव्यक्ति दिएका छन्।

प्रधानमन्त्री शाहले भारतले मात्र होइन, नेपालले पनि भारतको भूभाग मिचेको भन्ने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ।

यसै सिलसिलामा रास्वपा र प्रधानमन्त्री वालेन्द्रले माफी नमागेसम्म रविले भारत भ्रमण गर्नु नहुनेसम्मका कुरा उठिरहेका छन्। पार्टीका नेताहरू यस कारण अहिले गम्भीर छलफलमा छन् ।

रास्वपाको केन्द्रीय समिति र सचिवालयमा पनि प्रधानमन्त्रीको अभिव्यक्तिबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने, नगरेसम्म सभापतिले भारत भ्रमण नगर्नुपर्ने लगायतका कुरा उठिरहेका छन्।

रविकै भ्रमण हुने भएकाले परराष्ट्र मन्त्रालयले पनि हतार हतार वक्तव्य निकालेको छ। मन्त्रालयले बालेनको उक्त विवादित भनाइलाई ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित प्राविधिक यथार्थ भएको बताएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले आइतबार भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित छ ।’

स्रोतकाअनुसार सभापति लामिछाने परामर्शमा छन्। अन्य नेताले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह गरिरहेका छन् । सोमबार रवि भारत जान्छन् या जाँदैनन् भन्ने टुंगो अझै नलागेको एक सदस्यले जानकारी दिए।

यता रास्वपाका एक नेताका नुसार प्रधानमन्त्रीको भनाइ र पार्टी सभापतिबीच कुनै सम्बन्ध नरहेकाले उनी भारत भ्रमणमा निस्किने दाबी गर्छन्।

तर पार्टीकै अर्का नेताकाअनुसार प्रधानमन्त्रीको यो भनाइले सभापति लामिछानेको भारत भ्रमणलाई असर पर्ने भएकाले रोकिन पनि सक्ने बताउँछन्।

‘के गर्ने भन्ने विषयमा छलफल भइसकेको छैन। टिकट भइसकेको हुनाले उहाँहरू जान पनि सक्नुहुन्छ। तर गएर पनि प्रश्नको जवाफ के दिने भन्ने होला। पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरी उहाँलाई जान अप्ठ्यारो हुन्छ,’ ती नेताले भने, ‘प्रधानमन्त्रीले माफी माग्नुपर्छ, पार्टीले पनि यसबारे धारणा सार्वजनिक गरेपछि मात्रै उहाँ निस्किनुपर्छ भन्ने मत बलियो छ।’

यसै सन्दर्भलाई लिएर पार्टी सभापति रविलाई परराष्ट्रमन्त्री शिशिर खनालले पनि केही सुझाव दिएका छन् । खनालले रविलाई प्रधानमन्त्री र सभापतिले के गर्नुपर्छ, पार्टीले कस्तो कदम चाल्नुपर्छ भन्नेबारे सुझाएका हुन् ।

नेताहरूमा उकुसमुकुस

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेताहरू उकुसमुकस भएका छन्। प्रकट गर्न नसके पनि उनीहरूलाई प्रधानमन्त्रीको भनाइले समस्यामा पारेको नेताहरू बताउँछन्।

‘यस्ता विषयले हामी सांसदहरूलाई मात्रै होइन, पार्टीलाई पनि गम्भीर असर पुगेको छ। प्रधानमन्त्रीज्यूले यो विषय सोच्नुहोला। उहाँले सामान्य ढंगले लिनुभयो होला, तर यो बिल्कुल सामान्य विषय होइन,’ पार्टी स्रोतले भन्यो, ‘कहिलेकाहीँ खोलानालाको पानी बग्दा यताउता भएको हुन सक्छ, तर सीमा नै मिचेको भनेर त्यसलाई भन्न मिल्दैन।’

विपक्षी दलहरू पनि प्रधानमन्त्रीले भनाइ नसच्याएसम्म विरोध नरोक्ने पक्षमा छन् । रास्वपाले पनि आधिकारिक धारणा सार्वजनिक नगरेसम्म सभापतिले भारत भ्रमण गर्नु सन्देहास्पद हुने उनीहरूको टिप्पणी छ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ८ : १३ बजे

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार

आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सभामुख अघि बढ्न खोज्दा संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ।