विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा १०० भन्दा बढी चिकित्सकको सहभागितामा प्रयोगशाला उद्घाटनसँगै निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) बाट ‘बी श्रेणी’ को मान्यता प्राप्त यस प्रयोगशालाले करिब छ महिनाअघि नै सेवा सुरु गरेको थियो । कार्यक्रममा स्नायु सम्बन्धी रोगको पहिचानमा रगतमा आधारित जैविक सूचक (ब्लड बेस्ड बायोमार्कर) को प्रयोग तथा आधुनिक एलर्जी परीक्षण प्रविधि (सीआरडी) सम्बन्धी वैज्ञानिक प्रस्तुति दिइएको थियो ।
डा.लाल प्याथल्याब्सले पूर्वी नेपालका बिरामी तथा चिकित्सकलाई अत्याधुनिक परीक्षण प्रविधिसहित भरपर्दो रोग पहिचान सेवा (डायग्नोस्टिक सेवा) उपलब्ध गराउने जनाएको छ । ७५ वर्ष पुरानो कम्पनीले काठमाडौंमा ‘ए श्रेणी’ तथा आईएसओ १५१८९-२०२२ प्रमाणित प्रयोगशाला सञ्चालन गर्दै आएको छ ।
विराटनगरमा विस्तार गरिएको सेवाले पूर्वी नेपालमा गुणस्तरीय स्वास्थ्य परीक्षणको पहुँच थप विस्तार हुने विश्वास गरिएको छ ।












प्रतिक्रिया