दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा  « Khabarhub

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत सेवा सञ्चालनमा ल्याएको छ । 

सोमबार आयोजित एक कार्यक्रमबीच भूमि व्यवस्थापन तथा मालपोत सेवा कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाले औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो। यससँगै वैतेश्वर गाउँपालिका दोलखामा पालिकाबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्ने पहिलो स्थानीय तह बनेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोप्चन खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष छवि लामाले सेवाग्राही अर्जुन नेपालीलाई पहिलो जग्गा सम्बन्धी नक्सा हस्तान्तरण गर्दै कार्यालयको उद्घाटन गरेका थिए । 

उद्घाटनसँगै स्थानीयले अब आफ्नै गाउँपालिकाबाट जग्गा नापजाँच, नक्सा तथा मालपोतसम्बन्धी सेवा प्राप्त गर्न सक्ने भएका छन् । 

सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य यसअघि सामान्य जग्गासम्बन्धी कामका लागि समेत सेवाग्राहीहरूलाई सदरमुकाम चरिकोट पुग्नुपर्ने बाध्यता थियो। नापी, नक्सा तथा मालपोतसम्बन्धी साना कामका लागि पनि समय र खर्च व्यहोर्नुपर्ने अवस्था अब अन्त्य हुने गाउँपालिका अध्यक्ष छवि लामाले बताए । 

गाउँपालिकाबाटै सेवा उपलब्ध हुन थालेपछि स्थानीयलाई सहज, छिटो र प्रभावकारी सेवा प्राप्त हुने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई घरदैलोमै गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको बताए । 

नापी तथा मालपोत सेवा सञ्चालनसँगै सेवाग्राहीको समय, श्रम र खर्च बचत हुनुका साथै सेवा प्रवाह थप प्रभावकारी बन्ने उनको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत लोप्चन खनालले भूमि व्यवस्थापन कार्यालयमार्फत प्रदान गरिने सेवालाई छिटो, छरितो, पारदर्शी र सुरक्षित अभिलेख प्रणालीमा आधारित बनाउँदै लैजाने बताए । 

उनले आगामी दिनमा सेवा थप प्रविधिमैत्री र व्यवस्थित बनाउँदै स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बनाइने उल्लेख गरे । 

कार्यक्रममा वडा नम्बर–२ का वडा अध्यक्ष श्यामकुमार तामाङ, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । 

जग्गासम्बन्धी अधिकांश सेवा अब पालिकाबाटै दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखा जिल्लामध्ये वैतेश्वर गाउँपालिकाले पहिलोपटक पालिकाबाटै नापी तथा मालपोत सेवा सञ्चालन गरेर स्थानीय सेवा प्रवाहमा नयाँ इतिहास कायम गरेको छ । 

यस कार्यालयबाट अब जग्गा रोक्का, फुकुवा, किनबेच (राजीनामा), नामसारी, कित्ताकाट, नक्सा तथा क्षेत्रफल प्रमाणीकरण, जग्गाधनी प्रमाणपूर्जा सम्बन्धी सिफारिसलगायत अधिकांश नापी तथा मालपोतसम्बन्धी सेवा क्रमशः उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । 

यससँगै सामान्य जग्गासम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने, सेवाग्राहीको समय र खर्च बचत हुने तथा स्थानीयस्तरमै छिटो, सहज र प्रभावकारी सेवा प्राप्त हुने विश्वास गरिएको छ । 

स्थानीय सरकारबाटै नागरिकको घरदैलोमा अत्यावश्यक सार्वजनिक सेवा विस्तार गर्ने वैतेश्वर गाउँपालिकाको यो पहल जिल्लाकै लागि नमुना अभ्यासका रूपमा हेरिएको छ। सुवाश बस्नेत/दोलखा
 

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  २ : ४८ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु