पाँचथरको फालेलुङमा पहिरोले ११ परिवार विस्थापित, ४६ घर उच्च जोखिममा « Khabarhub

पाँचथरको फालेलुङमा पहिरोले ११ परिवार विस्थापित, ४६ घर उच्च जोखिममा


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका– ५ लुङ्मादिनमा साउन ९ र १० गते गएको पहिरोका कारण ४३ घरपरिवार उच्च जोखिममा परेका छन् । केही दिनअघिको निरन्तर वर्षापछि सुक्खा पहिरो खस्दा सम्पूर्ण बस्ती नै जोखिममा परेको हो ।

हालसम्म ३ घर पूर्ण रूपमा विस्थापित भइसकेका छन् भने विस्थापित परिवारलाई नजिकै रहेको श्री सिंह आवीमा सुरक्षित रूपमा राखिएको छ। विस्थापित हुनेहरूमा चन्द्रप्रसाद साम्बा, गणेशप्रसाद लिम्बू र विक्रम साम्बा रहेका छन्।

त्यस्तै, सोही वडाको सिरिसे टोलमा पनि पहिरोले दर्जनौँ घरधुरी जोखिममा पारेका छन् । यहाँ ५ घर पूर्ण रूपमा विस्थापित भइसकेका छन् । उनीहरू हाल छिमेकीको घरमा बस्दै आएका छन्। स्थानीय इतिहास लिवाङका अनुसार विस्थापित हुनेहरूमा कमलप्रसाद दर्लामी, अटल दर्लामी, पदम आले, प्रेम दर्लामी र हेम दर्लामी रहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोसी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले बुधबार पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। लुङ्मादिनमा वर्षा हुँदा बस्नै नसकिने अवस्था सिर्जना भएको र पहिरोले घर–जग्गामा चिरा पारेको छ। त्यहाँका नागरिकहरू पशुचौपायाको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा रहेको स्थानीय सन्दिप थाम्सुहाङले बताए ।

पहिरोबाट विस्थापित परिवारलाई फालेलुङ गाउँपालिकाले खाद्यान्न सामग्री प्रदान गरेको गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगूले जानकारी दिए । जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको उनले बताए। ‘सुरक्षित स्थानमा जग्गा खोजिरहेका छौँ, ठूलो रकम आवश्यक पर्ने भएकाले प्रदेश र संघ सरकारसँग सहयोगको आग्रह गरेका छौँ,’ उनले भने ।

सोही क्षेत्रमा २०८१ सालमा पनि सुक्खा पहिरो खसेको थियो, जसका कारण एक घर पूर्ण रूपमा विस्थापित भएको थियो। पहिरोभन्दा मुनि हेवा खोला बग्ने भएकाले वर्षायाममा बाढी आउँदा थप जोखिम बढ्ने स्थानीयको बुझाइ छ ।

विस्थापित परिवारहरूले अहिलेसम्म गाउँपालिकाबाहेक अन्य संघ–संस्थाबाट पर्याप्त राहत नपाएको गुनासो गरेका छन् । बस्ती वरिपरि पहिरोले चिरा परेपछि वर्षा लाग्नासाथ घर र पशुचौपाया छाडेर सुरक्षित स्थान खोज्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। नजिकैको विद्यालय पनि पहिरो जोखिम क्षेत्रभित्रै पर्ने भएकाले पूर्ण रूपमा सुरक्षित नभएको स्थानीयको भनाइ छ।

फालेलुङ गाउँपालिकामा २०७८ सालमा निर्माण गरिएको एकीकृत बस्ती हाल प्रयोगविहीन अवस्थामा रहेको छ। गाउँपालिका–३ बुङ्छेङडाँडामा लाखौँ लगानीमा निर्माण गरिएको उक्त बस्ती एकान्त स्थानमा रहेकाले त्यहाँ बस्न स्थानीयले रुचि नदेखाएको बताइन्छ।

नेकपा प्रदेश अध्यक्ष नेम्वाङले पीडितहरूलाई भेट्दै बस्ती स्थानान्तरणको विषयलाई सरकारसमक्ष प्राथमिकताका साथ उठाउने र पहल गर्ने बताएका छन् । उनले प्रदेशका मुख्यमन्त्रीसमक्ष विषय प्रस्तुत गरी चाँडै राहत तथा पुनर्स्थापनाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच, फालेलुङ गाउँपालिका–२ बरडाँडामा पनि असार २७ गतेदेखि परेको निरन्तर वर्षाका कारण जोरपोखरी–एकतिन–मेमेङ हुँदै फालोट जाने सडकखण्डमा पहिरो खस्दा मोटरबाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त पहिरोले दीपक कडरियाको घर पूर्ण रूपमा विस्थापित बनाएको छ भने गजेन्द्र अधिकारी, यादव अधिकारी र पदम अधिकारीका घर उच्च जोखिममा रहेका छन् ।

सोही वडाको जोरपाटीमा राजन खत्रीको घर पनि पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दीपक कडरिया र राजन खत्री हाल आफन्तको घरमा बस्दै आएका छन्। बरडाँडाको पहिरो अझै नरोकिएकाले सडक खुलाउन करिब दुई महिना लाग्ने वडा अध्यक्ष तिलबहादुर खत्रीले जानकारी दिए।

त्यसैगरी, फालेलुङ गाउँपालिका–३ ताङ्लेपासमेत पहिरोको जोखिममा परेको छ। यहाँ मनकुमार केरुङको घर पहिरोले बगाएको वडा अध्यक्ष शक्तिप्रसाद केरुङले जानकारी दिएका छन् ।

फालेलुङ गाउँपालिकाभर हालसम्म ११ घर पूर्ण रूपमा विस्थापित भएका छन् । जसअनुसार वडा नम्बर ५ लुङ्मादिनमा ३ घर, सोही वडाको सिरिसेमा ५ घर, वडा नम्बर २ बरडाँडामा १ घर, जोरपाटीमा १ घर र वडा नम्बर ३ ताङ्लेपामा १ घर विस्थापित भएको गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगूले जानकारी दिएका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १० : ५६ बजे

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले