काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको खोजी भइरहेको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले गृहमन्त्री र प्रधानमन्त्रीको खोजी गरिरहँदा उनीहरू सुरक्षा परिषद्को बैठकमा छन् ।
सुनसरी घटनामा सरकार अभिभावक नबनेको र पछिल्लो अवस्थाका विषयमा चुप लागेर बसेको भन्दै प्रतिपक्षीले आलोचना गरिरहँदा प्रधानमन्त्री बालेन्द्रले सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालय सदस्य दीपा दाहालका अनुसार भर्खरैबाट सिंहदरबारमा सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
प्रतिपक्षी दलले आज सदनमा उपस्थित भएर प्रधानमन्त्रीले पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा जानकारी दिने माग राखे पनि प्रतिनिधि सभा बैठकमा उनी उपस्थित हुने सम्भावना न्यून रहेको देखिन्छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित हुनुहुन्छ भन्ने प्रश्नमा बालेनको सचिवालय सुरक्षा परिषद्को बैठक बसिरहेकाले यसै भन्न सक्ने अवस्था नरहेको बताउँछ।
हिजो प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल सहित अरु नेताहरूले पनि सभामुखलाई आजको सदनमा उपस्थित भएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।
त्यसपछाडि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटेर प्रतिपक्षीको मागको विषयमा कुरा गर्दा उनले विचार गर्ने कुरा राखेको सभामुखको सचिवालय बताउँछ ।
तर आज प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठक सुरु समयमै सुरक्षा परिषद्को बैठक जुधाएर बहाना बनाएको देखिन्छ ।
प्रतिनिधिसभा बैठकमा निरन्तर प्रतिपक्षीले राज्य अभिभावकविहीन बनेको आरोप लगाइरहेका छन्।












प्रतिक्रिया