धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल « Khabarhub

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपिल जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गरे । 

उनीहरूले सदीयौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्‍याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन अपिल गरेका हुन् । 

स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनः स्थापित गर्न सक्रिय योगदान दिन अनुरोध गरेका छन् । 

संयुक्त अपिलमा विश्व हिन्दू महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासङ्घका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन् । 

‘सबै धर्मको भाव मानव कल्याण, सहिष्णुता अभिवृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु हो । कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उचनिच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो’, संयुक्त अपिलमा भनिएको छ । 

उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानुनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडितपरिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् । 

‘विभिन्न स्वार्थ समूहले धर्मका नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अनुरोध गर्दछौँ’, संयुक्त अपिलमा भनिएको छ ।

नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै उनीहरूले यहाँका धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार भएको बताए । ‘कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न हुँदैन भन्नेमा हामी स्पष्ट छौँ’, अपिलमा भनिएको छ । 

सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थितिप्रति दुःख व्यक्त गर्दै उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा निधन भएकामा श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ३ : ३६ बजे

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न,

शंकर पोखरेलले भने- अहिलेका घटनाको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुक्यो

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका विभिन्न स्थानमा घटेको

मन्त्री चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाको भेट

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि

मालीमा रुसी हवाई आक्रमण, आठ सर्वसाधारण मारिएको दाबी

एजेन्सी– अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले गत

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा