सेनाको मेडिकल कलेजमा ‘खुलेआम ठगी’, विरोध गर्ने विद्यार्थीलाई गायब पारिदिने धम्की | Khabarhub Khabarhub

सेनाको मेडिकल कलेजमा ‘खुलेआम ठगी’, विरोध गर्ने विद्यार्थीलाई गायब पारिदिने धम्की


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् ।

विद्यार्थीको आन्दोलन र उजुरी पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी मेडिकल कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्धा चलाउने ‘अन्तिम अल्टिमेटम’ समेत दिइसकेको छ ।

बढी शुल्क असुलेको भन्दै निजी मेडिकल कलेज सञ्चालकको विरोध भइरहेकै अवस्थामा सरकारी संस्थाले सञ्चालन गरेका मेडिकल कलेजमा पनि विद्यार्थीमाथि ठगी भएको तत्थ्य बाहिर आएको छ ।

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन लिएर सञ्चालित नेपाल आर्मी इन्सिच्युट अफ हेल्थ साइन्स (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान)ले विद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएको हो ।

आर्मी मेडिकल कलेजले ‘फी स्ट्रक्चर’मा नै सरकारले तोकेको भन्दा बढी शुल्क उल्लेख गरेर विद्यार्थीमाथि ‘ठगी’ गरिरहेको तत्थ्य भेटिएको छ ।

आर्मी मेडिकल कलेजले आर्थिक वर्ष २०७३/७४ मा एमबीबीएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुबाट झण्डै ८ लाख रुपैयाँ बढी शुल्क लिएको प्रमाण खबरहबले प्राप्त गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा एमबिबिएस अध्ययनमा महाराजगन्ज चिकित्सा क्याम्पसमा पूर्ण शुल्कतर्फ र उपत्यका भित्र सम्बन्धन प्राप्त कलेजका लागि ३५ लाख रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

यस्तै, उपत्यका बाहिर सम्बन्ध प्राप्त मेडिकल कलेजका लागि ३८ लाख ५० हजार शुल्क निर्धारण गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले शैक्षिक वर्ष २०७३/०७४ का लागि निर्धारण गरेको शुल्क । शैक्षिक वर्ष २०७३/०७४ मा उपत्यका भित्र (सम्बधन प्राप्त कलेजका लागि) ३५ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

सरकारले निर्धारण गरेको शुल्क अनुसार आईओएमले सार्वजनिक सुचना प्रकाशित गरी सरकारी निर्देशन अनुसार आर्थिक वर्ष २०७३/७४ मा एमबीबीएस अध्यन गर्ने विद्यार्थीले पहिलो पटक ५० प्रतिशत, दोस्रो पटक २५ र तेस्रो पटक २५ गरी तीन किस्तामा मेडिकल कलेजलाई शुल्क बुझाउपर्ने पनि उल्लेख गरेको थियो ।

आईओएमले सरकारले निर्धारण गरेको शुल्क मात्र लिएर विद्यार्थी भर्ना गर्न र गराउन निर्देशन पनि दिएको थियो ।

खबरहबलाई प्राप्त भएको आर्मी मेडिकल कलेजको आर्थिक वर्ष २०७३/७४ को फि स्ट्रक्चरमा भने सरकारले तोकेको भन्दा बढी शुल्क लिएको प्रष्ट देखिन्छ ।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा एमबीबीएसको शुल्क ३५ लाख मात्र तोकेको भए पनि सेनाको मेडिकल कलेजले भने विद्यार्थीसँग ४२ लाख ८२ हजार ७ सय १० रुपैयाँ शुल्क उठाएको देखिन्छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले विद्यार्थीबाट लिएको शुल्क उल्लेखित ‘फी स्ट्रक्चर’ । आईओएमले शैक्षिक वर्ष २०७३/०७४ मा उपत्यका भित्र (सम्बधन प्राप्त कलेजका लागि) ३५ लाख रुपैयाँ शुल्क निर्धारण गरेकोमा सेनाको मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीबाट ४२ लाख ८२ हजार ७ सय १० रुपैयाँ उठाएको देखिन्छ ।

आर्मी मेडिकल कलेजको विद्यार्थीसँग सरकारले तोकेकोभन्दा ७ लाख ८२ हजार ७ सय १० रुपैया बढी शुल्क लिएको फी स्ट्रक्चरमा प्रष्ट छ ।

शुल्कको विषयमा बोल्दा गायव पार्ने धम्की

आर्मी मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि मेडिकल विद्यार्थीले गुनासो नगरेका भने होइनन् ।

केही विद्यार्थीले २ वर्ष अगाडि चिकित्सा शिक्षा सुधारका ‘अभियान्ता’ डा गोविन्द केसी समेतलाई भेटेर आफ्नो समस्या राखेका थिए । बढी शुल्क लिएको भन्दै केही विद्यार्थीहरु आईओएम पनि पुगे । तर आईओएमका तत्कालीन साहायक डिनले विद्यार्थीको गुनासो सुनेनन् । बरु गुनासो लिएर पुगेका विद्यार्थीको हुलिया बारे आर्मी मेडिकल कलेजका तत्कालीन निर्देशक डा बच्छुराम केसीलाई जानकारी दिएको ‘पीडित विद्यार्थी’हरुको भनाइ छ ।

बढी शुल्क लिएको गुनासो गर्न आईओएम पुग्दा विद्यार्थीहरुले कलेजका निर्देशक डा बच्चुराम केसीबाट परीक्षामा फेल गराउने र गायबै पार्ने धम्कीको सामना गर्नुपर्‍यो ।

‘हामीसँग बढी शुल्क लिएपछि १ वर्ष अगाडि आईओएममा पनि गुनासो गर्न गयौं, डा गोविन्द केसीलाई पनि भेटेका थियौं,’ नाम उल्लेख नगर्ने सर्तमा ठगीमा परेका एक विद्यार्थीले भने, ‘तर आईओएमका साहायक डिनले गुनासो गर्न गएको कुरा मेडिकल कलेजमा भनिदिएछन् । हामीलाई एकसातासम्म नियन्त्रणमा लिएर राख्यो, कलेजका निर्देशक डा बच्चुराम केसीले शुल्कको विषयमा बोल्यो भने फेल गराइदिने, गायव पारिदिने भनेर धम्की दिनुभयो ।’

डाक्टर बन्न आर्मी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरु सो घटनाका कारण त्रसित बने । कलेजका प्रमुखले कलेजको विरुद्ध नबोल्ने प्रतिबद्धता सहितको पत्र नै लेख्न लगायो ।

विद्यार्थीहरुले ‘बाध्य भएर’ कलेज विरुद्ध नबोल्ने भनेर प्रतिवद्धता सहितको पत्र लेखेर ठगी विरुद्ध गुनासो गर्न गएकोमा माफी पनि मागे ।

‘हामी त डाक्टर बन्न आर्मी मेडिकल कलेजमा भर्ना भएका थियौं, कलेजले फेल गरिदिने, गायव नै पार्ने भनेर धम्की दिएपछि उनीहरुले जे–जे भन्थे त्यहि मान्न बाध्य भयौं,’ ठगीमा परेका अर्का एक विद्यार्थीले भने, ‘त्यसपछि डा केसीलाई पनि नभेट्ने, आईओएम नजाने र आर्मी मेडिकल कलेजविरुद्ध नबोल्ने र यसअघि बोलेको भनेर पत्र माफर्त जवर्जस्ती माफी माग्नुपर्‍यो ।’

कलेज विरुद्ध बोलेको भन्दै आर्मी मेडिकल कलेजले एमबीबीएस पहिलो वर्ष अध्ययनरत ३० जना विद्यार्थीलाई माफी माग्न लगाएको थियो ।

फेल गर्ने मात्र होइन गायव नै पार्ने भनेपछि त्रसित बनेका विद्यार्थीहरुले कलेजले गरेको ‘अन्याय’विरुद्ध बोल्न सकेनन् । आर्मी मेडिकल कलेजमा एमबीबीएस अध्ययनमा ठगीमा परेका उनीहरु अहिले एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छन् ।

आर्मी मेडिकल कलेजले मेडिकल विद्यार्थीलाई धम्याउँदै ठगी धन्दा चलाइरहेको मेडिकल विद्यार्थीको दाबी छ ।

‘हामीसँग मात्र होइन, हामीभन्दा एक ब्याच जुनियरलाई पनि ३ लाख बढी लिएको छ,’ ठगीमा परेका एक विद्यार्थीले भने, ‘मेडिकल कलेजसँग डराएर हामीले कति दिन यस्ता ठगी बढवा दिने ? कलेजले गरेको ठगीविरुद्ध बोल्यो भने फेल गराइदिने भनेर धम्की दिन्छन् । कतिदिनसम्म चुप लागेर बस्ने ? यस्तो ठगी कहिले रोकिने होला ?’

आर्मी मेडिकल कलेजमा आर्थिक वर्ष २०७३/७४ मा एमबीबीएसमा सिभिल (सर्वसाधारण) तर्फ ४९ जना, शिक्षा मन्त्रालयको कोटाबाट १२ जना र ६४ जना आर्मी तर्फको गरी १ सय १५ जनाको सिट रहेको थियो ।

चिकित्सा शिक्षा आयोग के भन्छ ?

मेडिकल कलेजहरुले बढी शुल्क लिएको विषयमा विद्यार्थीको लामो समयको आन्दोलन पछि सरकारले मेडिकल कलेजले लिएको शुल्कको विषयमा छानविन गरेर कारबाही प्रक्रिया अगाडी बढाउने तयारीमा छ । सरकारले बढी शुल्क लिएको भन्दै १२ वटा निजी मेडिकल कलेजलाई शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको छ ।

सरकारले निजी मेडिकल कलेजलाई शुल्क फिर्ताको लागि ताकेता गरीरहेको अवस्थामा आर्मी मेडिकल कलेजको शुल्कको विषयमा छानविन हुन्छ वा हुँदैन ? हामीले चिकित्सा शिक्षा आयोगका प्रवक्ता हरि लम्साललाई पनि सोधेका छौं ।

आयोगका प्रवक्ता लम्सालले शुल्कको विषयमा सबै मेडिकल कलेजमा सरकारले तोकेको शुल्क लागू हुने बताए । त्रिभुवन विश्व विद्यालय र काठमाडौं विश्वविद्यालयलाई बढी शुल्क फिर्ताको लागि निर्देशक दिएको आयोगका प्रवक्ता लम्सालले बताए ।

‘हामीले शुल्कको विषयमा फिर्ता वा समायोजन गर्नु भनेर त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई पत्र लेखिसकेका छौं । त्यो दुई विश्वविद्यालयभित्र पर्ने आंगिक, सरकारी निजी सबै मेडिकल कलेजमा लागू हुने निर्देशन हो,’ आयोगका प्रवक्ता लम्सालले भने, ‘मन्त्रालय र आयोगबाट गएको निर्देशन देशभरका मेडिकल कलेजमा लागू हुने हो, त्यसैले आर्मी मेडिकल कलेजमा पनि त्यो निर्देशन लागू हुनुपर्छ ।’

आर्मी मेडिकल कलेजले विद्यार्थीसँग लिएको शुल्कको विषयमा हामीले नेपाली सेनाका प्रवक्तालाई पनि प्रश्न गरेका थियौं । तर सैनिक प्रवक्ता साहायक रथी विज्ञान देव पोण्डेले सो विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ३ : १७ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड