काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म पार्टीका नेता नाइजल फराज र काउन्ट बिनफेस पार्टीका बिनफेसबीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । रिफर्म यूकेका दक्षिणपन्थी नेता नाइजल फराजले आफ्नो संसदीय सिटबाट राजीनामा दिएपछि उप निर्वाचन भएको हो ।
वित्तीय अपचलन काण्डमा मुछिएपछि संसदीय छानबिनबाट बच्न फराजले सांसद पदबाट राजीनामा दिएपछि उपनिर्वाचन भएको हो । फराजले आफ्नो साख जोगाउन राजनीतिक स्टन्ट गरेको भन्दै लेबर, कन्जरभेटिभ र लिबरल डेमोक्र्याटिक जस्ता मुख्य दलहरूले यस उपनिर्वाचनलाई बहिष्कार गरेका छन् ।
फराजले यस चुनावलाई जनता र संस्थापनबीचको लडाइँको रूपमा चित्रित गर्न खोजे पनि मुख्य राजनीतिक दलहरू मैदानमा नहुँदा यो प्रतिस्पर्धा निकै फरक देखिएको छ । निर्वाचनमा ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसले बेलायतको चुनावी इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । उम्मेदवारहरूको भीडका कारण मतपत्र ९० सेन्टिमिटर लामो बनेको छ । यसका कारण स्थानीय काउन्सिलका लागि व्यवस्थापकीय चुनौती खडा गरेको छ ।
फराजमाथि क्रिप्टोकरेन्सी व्यवसायी क्रिस्टोफर हार्बर्नबाट ५ मिलियन पाउण्ड उपहार प्राप्त गरी संसदीय नियम मिचेको आरोपमा छानबिन चलिरहेको छ । फराजले राजीनामा दिएसँगै रोकिएको उक्त अनुसन्धान उनी पुनः निर्वाचित भएमा पुनः सुरु हुनेछ । यदि उनले नियम उल्लङ्घन गरेको ठहर भई १० दिनभन्दा बढीको निलम्बन पाएमा उनले पुन: सिट गुमाउन सक्ने सम्भावना छ ।
हालका सर्वेक्षणहरूले फराजको पक्षमा ७० प्रतिशतभन्दा बढी मत आउन सक्ने देखाएका छन् । यद्यपि, रिफर्म पार्टीका लागि यो जितले मात्रै राष्ट्रिय राजनीतिमा उसको भविष्य सुरक्षित छ भन्न सकिँदैन । पछिल्लो समय वित्तीय विवाद र विवादास्पद पृष्ठभूमिका कारण रिफर्म यूकेको लोकप्रियतामा कमी आउन थालेको छ । इप्सोसको भर्खरैको सर्वेक्षणले लेबर पार्टीलाई २८ प्रतिशत र रिफर्म यूकेलाई २५ प्रतिशत समर्थनसहित पछाडि देखाएको छ ।
विज्ञहरूका अनुसार बेलायती राजनीति हाल इतिहासमै सबैभन्दा बढी विभाजित अवस्थामा छ । यस्तो अनिश्चित र विभाजित राजनीतिक माहोलमा यो उपनिर्वाचनको नतिजाले के सन्देश दिन्छ, त्यो हेर्न बाँकी नै छ ।












प्रतिक्रिया