मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (यूएसएमसीए) अझै वैध र कार्यान्वयनमा रहेको स्पष्ट पारेकी छन् ।
सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने उनले बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको सट्टा नयाँ सम्झौता ल्याउन सकिने सङ्केत गरिरहेका बेला शेनबामको यस्तो भनाइ आएको हो ।
शेनबामका अनुसार सम्झौतामा भएको व्यवस्थाबमोजिम लागू भएको छ वर्षपछि यसको कार्यान्वयन, प्रभावकारिता र आवश्यक सुधारका विषयमा समीक्षा गरिन्छ । उक्त समीक्षाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्न तीनै देश सहमत छन् वा छैनन् भन्ने विषयको पनि टुङ्गो लगाउनेछ ।
मेक्सिको र क्यानडाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्ने प्रस्ताव गरेका छन् भने अमेरिकाले आगामी १० वर्षसम्मको संरचना कायम राख्दै प्रत्येक वर्ष समीक्षा गर्ने प्रस्ताव अघि सारेको छ । यस विषयमा तीनै देशबीच छलफल जारी रहे पनि अन्तिम सहमति जुट्न सकेको छैन ।
राष्ट्रपति शेनबामका अनुसार समीक्षाका क्रममा मेक्सिकोको मुख्य प्राथमिकता अमेरिकामा निर्यात हुने आफ्ना सवारीसाधन, स्टिल र आल्मुनियममा लगाइएका भन्सार शुल्क घटाउनु तथा समीक्षा अवधिमा थप शुल्क लगाउनबाट रोक्नु हो ।
अमेरिकाले सम्झौतालाई स्वतः विस्तार नगर्ने निर्णय गरेपछि गत जुलाई १ देखि समीक्षा प्रक्रिया सुरु भएको हो ।
यस प्रक्रियाले उत्तर अमेरिकी क्षेत्रको व्यापार, औद्योगिक उत्पादन तथा तीनै देशबीचको आर्थिक सहकार्यको आगामी दिशालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया