रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे « Khabarhub

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका छन् । सङ्क्रमण फैलन नदिन खोप कार्यक्रम निरन्तर सञ्चालन गरिएपछि स्थिति नियन्त्रण उन्मुख भएको छ ।

पाँचथरमा फिदिम नगरपालिकासहित फाल्गुनन्द, कुम्मायक, हिलिहाङ र याङवरक गाउँपालिकामा रेबिज रोगको सङ्क्रमण फैलिएको थियो । रेबिज रोग सङ्क्रमित सामुदायिक कुकुरको टोकाइबाट गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर र सामुदायिक तथा घरपालुवा कुकुरमा सङ्क्रमण फैलिएको हो । जसकारण हालसम्म सानाठूला गरी ३६ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख निरजकुमार भट्टराईले जानकारी दिए ।

पाँचथरमा सबैभन्दा बढी फाल्गुनन्द गाउँपालिकामा रेबिज रोगको सङ्क्रमण फैलिएको थियो । एकै सङ्क्रमित कुकुरले दर्जनौँ पशु चौपायालाई टोकेपछि स्थिति भयावह बनेको थियो । जसकारण फाल्गुनन्द गाउँपालिकामा मात्रै छ गाईगोरु, सात भैँसी, पाँच बाख्रा र आठ कुकुर रेबिज सङ्क्रमणका कारण मरेको फाल्गुनन्द गाउँपालिका पशुपक्षी विकास शाखाका प्रमुख डा निरज चौधरीले जानकारी दिए । उक्त गाउँपालिकाका–६ र ७ मा सङ्क्रमण अत्यधिक फैलिएको थियो । यस क्रममा पाँच जना मानिसलाई पनि सङ्क्रमित कुकुरले टोकेपछि उपचार भइरहेको छ ।

रेबिज रोगको सङ्क्रमणबाट फाल्गुनन्दका अतिरिक्त हिलिहाङ गाउँपालिकामा पाँच वटा, कुम्मायकमा एउटा, याङवरकमा तीन वटा र फिदिम नगरपालिकामा एउटा पशुचौपाया मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरले जनाएको छ । सङ्क्रमण फैलिएपछि कुकुर तथा अन्य पशुचौपायामा रेबिज रोगविरुद्धको खोप लगाउने कार्यक्रम छ ।

फिदिममा हालसम्म पनि सामुदायिक तथा घरपालुवा कुकुरलाई खोप लगाउने कार्यक्रम चलिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख भट्टराईले जानकारी दिनुभयो । फिदिम र फाल्गुनन्द बाहेकका स्थान जोखिममुक्त भएको पनि उनको भनाइ छ ।

फाल्गुनन्द गाउँपालिकाका पशु प्राविधिक गोपाल घिमिरेको अनुसार रेबिज रोगको सङ्क्रमण फैलिएपछि नौ महिनासम्म पनि प्रभाव देखिएका कारण अझैसम्म सङ्क्रमणको जोखिम कायमै छ । “गत वर्षको साउनमा फाल्गुनन्द–२ मा रेबिजको लक्षण देखिएपछि जाँच गर्दा पोजेटिभ देखियो । त्यसैको प्रभावले होला गत वैशाखसम्म गाईवस्तु मरिरहे,” घिमिरेले भने, “सो अवधिमा पाँच वटा गाईवस्तु मरे ।”

यस वर्ष गत असार २३ गते वडा नं ६ मा एउटा सङ्क्रमित कुकुरले एकै दिन २२ पशु चौपाया र चार जनालाई टोकेको थियो । जसमध्ये पाँच वटा पशुचौपाया मरेको घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमित पशुले शरीरका अङ्गमा टोके पनि रेबिजको सङ्क्रमण मस्तिष्कसम्म पुग्न समय लाग्ने हुँदा लामो समयपछि पनि लक्षण देखिने घिमिरेको भनाइ छ ।

फाल्गुनन्द गाउँपालिकामा रेबिज सङ्क्रमणको स्थिति भयावह बनेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथर र ताप्लेजुङको टोली, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको टोली र पशु सेवा विभागको केन्द्रीय प्रयोगशालाको टोलीले समेत अध्ययन र अनुगमन गरेको थियो । यसपछि खोप कार्यक्रम व्यापक बनाइएको थियो । हाल फाल्गुनन्दमा समेत सङ्क्रमण फैलनबाट रोकिएको तथा पशुचौपायामा लक्षण देखिने क्रम जारी रहेको पशु प्राविधिक घिमिरेको भनाइ छ ।

यसैगरी, फाल्गुनन्द गाउँपालिकामा खोप कार्यक्रम विस्तार गर्न पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले एक थान आइएलआर रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ । यसले खोप भण्डारण गर्न मद्दत पुग्ने फाल्गुनन्द गाउँपालिका पशुपक्षी विकास शाखाका प्रमुख डा चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १० : ५० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको