१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू) « Khabarhub

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । 

लामो समयदेखि पुल निर्माण अलपत्र पर्दा स्थानीय बासिन्दा तथा हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारण जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।

पुल निर्माण सम्पन्न नहुँदा कमला नदीमा नियमित र सहज यातायात सञ्चालन हुन सकेको छैन । वर्षायाममा नदीमा पानीको बहाव बढ्दा समस्या झनै जटिल बन्ने गरेको छ । 

पुल नहुँदा यात्रुहरू डुंगाको सहारा लिनुपर्ने बाध्यतामा छन् । नदी वारपार गर्न एक पटकका लागि करिब एक सय रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको यात्रुहरू बताउँछन् ।

सडकमार्गबाट सहज रूपमा गन्तव्यसम्म पुग्न सकिने भए पनि पुल नबन्दाबीच बाटोमै नदी तर्नुपर्ने बाध्यता छ । मोटरसाइकल तथा अन्य सवारीसाधनसहित नदी पार गर्नुपर्ने भएकाले यात्रुहरू थप जोखिममा पर्ने गरेका छन् । 

विशेषगरी वर्षाको समयमा नदीको बहाव तीव्र हुने भएकाले डुंगाबाट वारपार गर्दा दुर्घटनाको जोखिमसमेत रहने गरेको स्थानीयको भनाइ छ।

कमला नदीमा पुल निर्माण भएपछि सिरहा, धनुषालगायत मधेसका विभिन्न जिल्लाबीचको यातायात सहज हुने अपेक्षा गरिएको थियो । 

पुलले हुलाकी राजमार्गलाई थप प्रभावकारी बनाउनुका साथै स्थानीयको आवतजावत, व्यापार व्यवसाय तथा कृषि उपजको ढुवानीमा समेत सहजता ल्याउने विश्वास गरिएको थियो । 

तर, निर्माण कार्यमा निरन्तर ढिलाइ हुँदा वर्षौंदेखिको स्थानीयको अपेक्षा अझै पूरा हुन सकेको छैन ।

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ । 

आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको समस्या झेल्नुपर्ने अवस्था छ।

स्थानीय बासिन्दाले लामो समयदेखि अलपत्र पुल निर्माण तत्काल अघि बढाई निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन् । 

उनीहरूले विकास आयोजनामा हुने ढिलाइको प्रत्यक्ष मार सर्वसाधारणले खेप्नुपरेको भन्दै निर्माणमा देखिएको समस्या पहिचान गरी जिम्मेवार पक्षलाई जबाफदेही बनाउनुपर्ने बताएका छन्।

१५ वर्षदेखि निर्माणाधीन पुल कहिले सम्पन्न हुन्छ भन्ने अन्योल कायमै रहँदा कमला नदीमा डुंगाको सहारामा वारपार गर्ने बाध्यता भने अझै हट्न सकेको छैन । 

हुलाकी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सिरहा–धनुषा जोड्ने कमला पुलको निर्माण शीघ्र सम्पन्न गर्नु आवश्यक देखिएको छ ।

तस्बिर : सुरेन्द्र कामती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ११ : २४ बजे

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी