‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’ « Khabarhub

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

बेलाबेला बहाव बढ्दा हाइड्रोपावरमा फसेकालाई निकाल्न कठिन भएको छ



विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा बुधबारको जति ठूलो बाढी आउने सम्भावना नरहेको बताउँछिन्। उनी नेपाल-चिन सरकारबीच समन्वयमै काम भइरहेको बताउँछिन्। अब ताल फुटेकै अवस्थामा पनि बुधबारको जति क्षति नगर्ने विश्लेषण उनी सुनाउँछिन्। तालमा जम्मा भएको पानी बाढी बनेर आएकै खण्डमा बुधबारजस्तो जोखिम नरहेको तर उच्च सतर्कता अपनाउँदै सुरक्षित हुनुपर्ने उनको तर्क छ। उनी बेलाबेला आउने बाढीका कारण उद्धारमा कठिनाइ भएको उल्लेख गर्दै सुरूमा फसेकाहरूलाई जति सक्दो चाँडो उद्धार गर्न नसकिएको जानकारी दिन्छिन्। बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे महतसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिले बाढी प्रभावित क्षेत्रमा पछिल्लो अवस्था कस्तो छ ?

हामीले अपडेट लिइरहेका छौं । अहिलेसम्म मात्र ४१ वटा उडान भइसक्यो। त्यहाँनेर तीनवटै सुरक्षा निकाय खटिएका छन्। सँगसँगै भारत र चीनका विज्ञले पनि सहयोग गरिरहनु भएको छ । अहिले विभिन्न सुरुङमा फसेकाहरूको उद्धार प्रक्रिया सुरु भएका छन्। काम द्रुूत गतिमा भइरहेको छ तर पनि बेलाबेला बाढीको बहाव बढेका कारण तीव्र गतिमा काम भएको छैन।

ताल फुटेर समस्या भयो भन्ने आइरहेको छ,अहिले अवस्था कस्तो छ ?

यहाँले भनेजस्तै दुई दिनअगाडि नै यो विषय अलिअलि उठिराखेको छ। विज्ञहरू र हाम्रो प्राधिकरणका कर्मचारीहरूले पनि केही समस्या हुन सक्छ भन्ने अपडेट गराउनुभएको थियो। स्याटेलाइट फोटाेबाट हेर्दा साँच्चिकै बहाव बढेर रियल टाइम डेटाले साइरन दिइरहेको अवस्था हो। त्यसले गल्छीको पनि डेटा दिएको छ । अन्य केही क्षेत्रका पनि डेटा दिइरहेको छ। बीचमा बाढीका कारण डेटाहरू बिग्रिएका थिए, अहिले मर्मत गरिरहेका छौं । टिमुरेमा डेटाको लागि साइरन इन्स्टल हुँदैछ। शुक्रबार बहाव अलिक बढेको कुरा आयो। पहिरोपछि हिमाल क्षेत्रमा बनेकाए दुईवटा क्षेत्रको ताल चुहिएर केही सतह बढेको थियो। केही बढेर सामान्य हुँदै गएको अवस्था थियो। आइतबार बिहान हामीलाई प्राप्त जानकारी अनुसार ४:४५ तिर अलिकति बहाव बढेको रिपोर्ट आयो।

रसुवामा बढेको बहाव गल्छीमा पनि देखिएको कुरा आयो । जिल्ला प्रहरी कार्यालय रसुवाबाट बाढी बढेर समुदायमा पनि आवाज आइसकेको कुरा मिलेपछि डीएचएमसँग बुझेर बाढी पूर्वानुमानमा महाशाखाले सूचना निकाल्यो । हामीले पनि निकाल्यौँ । सतर्कताको लागि सूचना निकालेका हौँ। अहिले फेरि बढेको ठूलो जानकारी प्राप्त भएको छैन। अहिले ठूलो बाढी होइन भन्ने भएको छ। एक दुईवटा भिडियोमा अलिक बढेको जस्तो देखिएको छ, त्यो कति आधिकारिक हो होइन ? हामी हेर्दैछौँ, सही सूचना मात्रै दिनुहोला भन्ने हाम्रो कुरा छ।

हामीसँग भएको सूचनाअनुसार बुधबारको जस्तो जोखिम हुने अवस्था छ कि छैन ? 

हामीसँग आएको सूचनाअनुसार अघि  भनेजस्तै ताल फर्मेसन भएर जे जति पानी आएको छ, अनुमानित पानी सबै ताल फुटेर आए पनि बुधबारको जस्तो जोखिम हुँदैन। तालै फुटेको अवस्थामा पनि बुधबारको जतिको पावर भएर पानी आउँदैन भनेर विज्ञहरूले पनि भनिरहनुभएको छ। अहिले सबै फुटेर आएको पनि होइन । ओभर-फ्लो भएर केही पानी आएको हो। 

दुईवटै सिमानाको ताल फुटे पनि बुधबारको जस्तो भीषण समस्या झेल्नुपर्दैन होइन त ?

दुईवटै पक्षको एकैचोटि फुट्यो भने त ठ्याक्कै म भन्न सक्दिनँ। तर विज्ञहरूले हामीलाई भनेअनुसार तालमा जम्मा भएको पानी फुटे पनि र तालै फुटे पनि बुधबारको जस्तो भीषण वर्षा हुँदैन भन्ने छ । 

उसो भए बहाव बढेका कारण उद्धार कार्यमा  कठिनाइ भएकै हो ?

हो, बेलाबेला बाढी बढेका कारण उद्धार कार्यमा पक्कै बिलम्ब र कठिनाइ भएको छ। खोला स्थिर रहने र बर्खाको समय नभएको भए चाँडै नै उद्धार गर्ने अवस्था रहन्थ्यो। विशेष गरेर हाइड्रोपावरमा फसेकालाई उद्धारका लागि खोला बढेका कारण कठिनाइ भइरहेको छ। खोला नबढेको र पानी नपरिदिएको भए हामीले धेरैलाई उद्धार गरेर ज्यान  बचाउन सक्ने थियौं ।

अहिले चीन सरकारसँग यो विषयमा कसरी सहकार्य भइरहेको छ ?

गत वर्ष रसुवामा आएको बाढी यसभन्दा अलिक सानो थियो।  त्यो बेलादेखि नै हामी निरन्तर सम्पर्कमा थियौँ। तर बुधबार चाहिँ अचानक आएको भएर दुवै तर्फलाई ढिलो गरी मात्रै थाहा भयो । 

गत वर्षदेखि नै नेपाल र चीन सरकारबीच जसलाई पहिला थाहा हुन्छ, त्यसले सूचना दिने भन्ने हिसाबले कुराकानी भइरहेको हो ।त्यहाँका विषय विज्ञहरूले हिमताल र हिमपहिरो सम्बन्धी जानकारी दिँदै पनि आउनुभएको थियो। यताबाट पनि त्यो प्रक्रिया निरन्तर थियो । 

बुधबारको विषय उहाँहरूलाई पनि सूचना भएन । एकैचोटि आएका कारण हामी दुवै पक्ष सरप्राइज भयौँ। नत्र यत्रो जनधनको क्षति हुने थिएन । माथिल्लो क्षेत्रमा सूचना नपुगेका कारण धेरै विनाश भयो । तल्लो क्षेत्रमा सूचना पुगेका कारण धेरै सुरक्षित भएको छ।

रसुवाको टिमुरेमा चाहिँ आकस्मात त्यही ठाउँमै पहिलोपटक भएको भएर त्यहाँ तत्काल सूचना दिन तत्काल सकेनौँ। थाहा हुनेबित्तिकै सूचना फ्लो भएको थियो । तर सूचना दिँदादिँदै यत्रो ठूलो आउँछ भन्ने आमजनमानसमा पनि त्यो खालको अनुमान भएन । कतिपय भाग्नुभयो । कतिपयले हेलचेक्र्याइँ गरेको देखिन्छ। त्यसले पनि क्षति बढी भएको छ। 

उसो भए अहिले नेपाल र चीनबीच संवादमा समस्या छैन ?

कम्युनिकेशनका लागि परराष्ट्र मन्त्रालयसँग हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूले दिएको जानकारी अनुसार सञ्चारमा कुनै समस्या छैन। हामीसँग पनि सिधै कतिपय कुराहरू हुन्छन् । तर परराष्ट्रसँग हामीले अनुरोध गरेर कुरा गरिराखेका छौँ । उहाँहरूले कुरा गर्दा यो विषयमा छलफल भइराखेको छ कम्युनिकेशनमा समस्या छैन भन्ने कुरा गर्नुहुन्छ। 

सरकारको स्थानीय तहसँग सम्बन्धबिच्छेद भएका कारण समस्या भयो भन्ने छ नि ?

त्यो त यहाँहरू सबैले आंकलन गर्नुभएको विषय नै हो। स्थानीय तहका संरचना बग्दा र सञ्चार सुविधा नहुँदा निकै नै समस्या उत्पन्न भएको छ । त्यत्रो ठूलो बाढी आयो, त्यसले हामीलाई १९८ भन्दा बढी एनटिसी र एनसेलका टावरहरू गएका छन्। 

धेरै समयसम्म त्यहाँ सम्पर्क विच्छेद नै भएको हो। तर हामीले तुरुन्तै  सञ्चार मन्त्रालय र सञ्चार प्रदायक संस्थाहरूको सहकार्यमा फेरि तुरुन्तै मर्मतको काम प्रारम्भ भइसकेको छ । अहिले चाहिँ स्थानीय तहसँगको समन्वयमा  समस्या छैन।  तर स्थानीय सरकारका भवन र स्वयं जनप्रतिनिधि प्रभावित हुँदा समन्वय  कार्यमा पनि समस्या पैदा भयो।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ७ : ५३ बजे

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी