काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त गर्दै एकता र सहकार्यका लागि आह्वान गरेका छन् ।
आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार प्रेस वक्तव्य जारी गर्दै कोइरालाले कांग्रेस विभाजनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्ने बताएका हुन्।
उनले कांग्रेसभित्रको वर्तमान अवस्थालाई ‘समुद्रमा गन्तव्य हराएको माझी’ जस्तो भएको टिप्पणी गरेका छन्। ‘आज हामी न अजेय छौँ, न विजय नै छौँ । हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीझैं भएका छौँ,’ उनले भनेका छन् ।
कोइरालाले प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडाप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै प्रश्न उठाएका छन्। रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएको विपत्तिबाट प्रभावित तथा परिवारका सदस्य गुमाएका नागरिकको पीडा बुझ्नुपर्ने उनको भनाइ छ।
‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतना शून्य भएर बसेका छन् । उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ ?’ उनले प्रश्न गरेका छन् ।
पार्टीभित्रको विवादमा कानुनी र विधानका धारालाई मात्र आधार बनाएर मानवीय संवेदनासँग खेलवाड गर्न नहुने कोइरालाको भनाइ छ। उनले सहमति, सहकार्य र एकताबाट अघि बढेर नागरिकको चहराइरहेको घाउमा मल्हम बन्न कांग्रेस सक्षम हुनुपर्ने बताएका छन् ।
कोइरालाले दुईवटा महाधिवेशनको अवस्थाले आफूलाई पीडा दिएको उल्लेख गर्दै मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्नेमा जोड दिएका छन् ।
‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले भनेका छन् ।
उनले आफू कसैको पक्षमा आरोप–प्रत्यारोप गर्न नचाहेको पनि स्पष्ट पारेका छन्। कांग्रेसभित्र एक पक्षको जित र अर्को पक्षको हारलाई कांग्रेसको विजयका रूपमा उत्सव मनाउन नसकिने उनको भनाइ छ ।
‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भयो भनेर कसरी उत्सव मनाउन सकिन्छ होला?’ कोइरालाले प्रश्न गरेका छन् ।
बीपी कोइरालालगायत पार्टीका संस्थापक नेताहरूको राजनीतिक, नैतिक र सामाजिक आदर्श स्मरण गर्दै उनले कांग्रेस आफ्नो विरासत र संस्कारबाट विचलित हुन नहुने बताएका छन् ।
उनले कांग्रेस एकता र राष्ट्र निर्माणलाई अलग विषयका रूपमा बुझ्न नसकिने उल्लेख गर्दै गाउँटोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई पार्टी एकताका लागि जुट्न आग्रह गरेका छन् ।
‘हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ’ भन्ने विश्वास व्यक्त गर्दै कोइरालाले आफू कांग्रेस एकताका लागि निरन्तर संवाद र अभियानमा लागिरहने बताएका छन्।













प्रतिक्रिया