पाकिस्तान–अफगानिस्तान सीमामा फेरि तनाव « Khabarhub

पाकिस्तान–अफगानिस्तान सीमामा फेरि तनाव


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पेसावर- पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिवान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन्। अफगानिस्तानले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार आतङ्कवादी समूहको सीमापार घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिवान सेनाले पाकिस्तानी सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको हो। त्यसपछि पाकिस्तानी सेनाले जबाफी कारबाही गर्दै अफगान तालिबानका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान र अन्य रक्षात्मक संरचनालाई तोपखानाबाट निशाना बनाएको उनीहरूले बताएका छन्।

चार स्थानीय अधिकारीका अनुसार पक्तिया र नङ्गरहार प्रान्ततर्फबाट आतङ्कवादीहरूले पाकिस्तान प्रवेश गर्ने प्रयास गरेका थिए। पाकिस्तानले पाकिस्तानी तालिबानका लडाकुलाई ‘फितना–उल–खवारीज’ नामले सम्बोधन गर्दै आएको छ।

पाकिस्तानी अधिकारीहरूले अफगान तालिवान सरकारमाथि आफ्नो भूमिबाट आतङ्कवादी गतिविधि सञ्चालन गर्न दिएको आरोप लगाउँदै आएका छन्। काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।

अधिकारीहरूले घुसपैठको प्रयास विफल भएपछि अफगान तालिबान सेनाले गोलाबारी गरेको र जबाफी कारबाहीपछि उसका केही सुरक्षाकर्मीले स्थान छाडेको तथा हताहत भएको दाबी गरेका छन्। उनीहरूले नाम सार्वजनिक नगर्ने सर्तमा पछिल्लो घटनाबारे जानकारी दिएका हुन्। यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

यसअघि पाकिस्तानी लडाकु विमानले पूर्वी अफगानिस्तानमा आतङ्कवादीका आश्रयस्थल भन्दै केही स्थानमा हवाई आक्रमण गरेको थियो। सोमबार भएको उक्त आक्रमणमा २८ जना आतङ्कवादी मारिएको पाकिस्तानको सूचना मन्त्रालयले दाबी गरेको थियो। अफगान अधिकारीहरूले भने कम्तीमा तीन सर्वसाधारणको मृत्यु र चारजना घाइते भएको बताएका थिए। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले पनि नागरिक हताहत भएको जनाएको थियो।

पछिल्लो घटनाक्रमले पाकिस्तान र अफगानिस्तानबीच स्थायी शान्ति कायम गर्न चीन, टर्की, कतार र साउदी अरेबियाले गरिरहेका मध्यस्थता प्रयास प्रभावित हुनसक्ने चिन्ता बढेको छ। संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्युयोर्कमा आयोजित एक कार्यक्रममा पाकिस्तानी विदेशमन्त्री इशाक दारले अफगानिस्तानमा दुई दर्जनभन्दा बढी पाकिस्तानविरोधी आतङ्कवादी समूहको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका थिए।

यसैबीच, पाकिस्तानी अधिकारीहरूले उत्तरपश्चिमी पाकिस्तानको कोहाटतर्फ प्रवेश गर्नुअघि अफगान तालिवान शासनद्वारा प्रक्षेपित भनिएका दुईवटा ड्रोन निष्क्रिय पारेको बताएका छन्। अफगानिस्तानबाट उत्पन्न हुनसक्ने हवाई खतराविरुद्ध पाकिस्तानी सुरक्षा बल उच्च सतर्कतामा रहेको उनीहरूको भनाइ छ।

पछिल्ला हवाई आक्रमणले सीमापार लामो समयदेखि जारी तनावपछि देखिएको केही साताको तुलनात्मक शान्तिसमेत अन्त्य गरेको छ। यसै महिनाको सुरुआतमा पाकिस्तानी सुरक्षा बलले अफगानिस्तानबाट प्रवेश गर्ने प्रयास गरिरहेका १५ जना आतङ्कवादीलाई मारेको जनाएको थियो।

सोमबारको हवाई आक्रमण खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा आतङ्कवादीसँग भएको गोली हानाहानपछि भएको थियो। उक्त घटनामा छजना पाकिस्तानी सुरक्षाकर्मी मारिएका थिए।

त्यसको केही दिनअघि नजिकैको कोहाट सहरस्थित प्रहरी परिसरभित्र रहेको मस्जिदमा आत्मघाती बम विस्फोट भएको थियो। त्यसपछि आठजना बन्दुकधारीले परिसरमा आक्रमण गर्दा करिब २० घण्टासम्म गोली हानाहान भएको र कम्तीमा २१ जनाको मृत्यु भएको थियो। मृतकमध्ये अधिकांश प्रहरी अधिकारी थिए। उक्त आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन।

पाकिस्तानी अधिकारीहरूले पछिल्ला हिंसात्मक घटनामा तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) तथा सम्बद्ध समूहलाई जिम्मेवार ठहराउँदै आएका छन्। अफगान तालिबान सन् २०२१ मा अफगानिस्तानको सत्तामा फर्किएपछि टीटीपीले पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण बढाएको पाकिस्तानको दाबी छ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : ०० बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी