पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत « Khabarhub

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा पार्टीका सम्बन्धित कमिटीमै बहस गर्नुपर्ने बताए।

आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिले पार्टीको संस्थागत प्रतिष्ठा, कार्यकर्ताको मनोबल र जनविश्वासमा असर परेको उनको भनाइ थियो। ‘पार्टीको आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिबारे पार्टीले स्पष्ट आचारसंहिता बनाउनुपर्छ र आवश्यकताअनुसार कारबाहीको विषय बनाउनुपर्छ,’ उनले भने।

बस्नेतले पार्टी र नेतृत्वको रक्षा गर्नु गलत तथा नेतृत्वलाई कमजोर बनाउनु नै क्रान्तिकारी कदम हो भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताए। गलत देखिए नेतृत्वलाई सचेत गराउने, नेतृत्वलाई स्थापित गर्ने र मतभेदलाई विधिसम्मत संवादबाट समाधान गर्ने संस्कार नै जनवादी केन्द्रीयता र जनताको बहुदलीय जनवादको मूल भावना भएको उनको भनाइ थियो।

उनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा आवश्यक सुझाव समेटेर त्यसलाई समृद्ध बनाई पारित गर्नुपर्ने धारणा राखे। कठिन राजनीतिक परिस्थितिमा ओलीले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा विकास र समृद्धिको एजेन्डा अघि बढाएको उनले बताए। बस्नेतले पार्टीको पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग मात्र जोड्न नहुने बताए।

उनका अनुसार पुनर्गठन भनेको पार्टी सुधार, संगठन सुदृढीकरण, कार्यशैलीमा सुधार र जनसम्बन्ध विस्तार हो। आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै संगठन, नीति र नेतृत्वलाई थप बलियो बनाउनुपर्ने उनले बताए। विचार मिल्ने वामपन्थी दलसँग कार्यगत एकता र सहकार्य गर्दै गुमेको जनमत फिर्ता ल्याउने दिशामा अघि बढ्नुपर्ने उनको धारणा थियो।

वर्तमान सरकारका कामकारबाहीविरुद्ध एमालेले जनताका मुद्दा उठाउनुपर्ने बताउँदै बस्नेतले महँगी, भ्रष्टाचार र विपद् व्यवस्थापनमा देखिएका कमजोरीलाई जनतासमक्ष लैजानुपर्ने बताए। लोकतन्त्र, संविधान, विधिको शासन र जनअधिकारको रक्षाका लागि पार्टी कमिटी, नेता–कार्यकर्ता तथा जनसमुदायलाई संगठित गर्नुपर्ने उनले बताए।

भोटेकोशीमा भएको विपत्तिका क्रममा खोजी, उद्धार र राहतमा खटिएका पार्टी पंक्ति, जनसंगठन तथा स्वयंसेवकलाई धन्यवाद दिँदै उनले स्थानीय कमिटीले पार्टी कोषमा जम्मा गर्ने भनिएको १ करोड २० लाख रुपैयाँ र ५०० अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता कार्यान्वयनमा सबैले भूमिका खेल्नुपर्ने बताए।

पार्टीभित्र रणनीति र कार्यनीतिका विषयमा बहस गर्ने सार्वभौम थलो महाधिवेशन भएको उल्लेख गर्दै बस्नेतले केन्द्रीय कमिटी बैठकमा फरक दस्तावेज प्रस्तुत गर्नुभन्दा विधान र बैठकको कार्यविधिअनुसार फरक मत राख्नुपर्ने बताए। ‘रणनीति र कार्यनीतिका विषयमा बहस गर्ने सार्वभौम थलो महाधिवेशन हो। केन्द्रीय कमिटीको बैठकमा फरक दस्तावेज राख्ने होइन, निर्णयमा फरक मत भए पार्टीको विधान र बैठकको कार्यविधिअनुसार राख्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : ३० बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ