तेहरान- मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यसअघि सेप्टेम्बर २ मा एक डलरबराबर २२ लाख रियाल पुगेको थियो ।
युद्ध सुरु भएयता रियाल निरन्तर दबाबमा रहेको छ । इरानी तेलमाथि लगाइएको अमेरिकी प्रतिबन्धका कारण विदेशी मुद्रा आम्दानी प्रभावित हुँदै आएकोमा युद्धपछि प्रतिबन्ध थप कडा भएपछि आर्थिक दबाब झनै बढेको बताइएको छ ।
रियाल कमजोर हुँदा आयातित वस्तुको मूल्य बढ्ने र दैनिक उपभोग्य सामग्री महँगो हुन सक्ने जोखिम छ । यसले सर्वसाधारणमाथि आर्थिक भार थपिन सक्ने देखिएको छ ।
यसैबीच, इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ताको सम्भावना पनि देखिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले होर्मुज जलडमरूमध्य खोल्ने विषयमा भइरहेका छलफल थप गम्भीर बनेको बताउनुभएको छ ।
अराघ्चीका अनुसार छलफल मुख्य रूपमा होर्मुज जलडमरूमध्यमै केन्द्रित छ । उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाट फर्कनुअघि पाकिस्तान र कतारका मध्यस्थकर्तासँग भेटवार्ता गरेका थिए ।
कतारका मध्यस्थकर्ताले चाँडै अमेरिकी पक्षसँग छलफल गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभएको छ । होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको तनावले विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा समेत असर पार्न सक्ने चिन्ता छ ।
युद्ध, कडा आर्थिक प्रतिबन्ध र तेल आपूर्तिमा बढ्दो अनिश्चितताबीच रियालको निरन्तर अवमूल्यनले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।














प्रतिक्रिया