चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो जिप एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज दिउँसो १ः३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना.६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो जिप एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा दिउँसो २ः३९ बजे भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिपमा सवार सावित्री माझी, उमा श्रेष्ठ, कविता परियार, मैया कुमारी लोप्चन, जुनी सुनार, उमा वाईवा, पवित्रा विक, लालकुमारी गुम्बा, जिप चालक कोमलबहादुर श्रेष्ठ र सीतामाया श्रेष्ठ घाइते भएका छन्। उनीहरू सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
दुर्घटनापछि घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो। प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका–१ बस्ने ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ।
जिप चालक श्रेष्ठ पनि घाइते भएकाले अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया