पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’ « Khabarhub

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

आर्थिक र राजनीतिक समानताको संघर्ष नै समाजवाद


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य छ । समानता भन्नुको तात्पर्य राजनीतिक तथा आर्थिक समानता हो ।

समाज दैवीसंरचना होइन, त्यो शुद्ध भौतिक व्यवस्था हो । समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा प्रदान गर्नु समाजवादको उद्देश्य हो । यो विशुद्ध भौतिक पक्ष हो, आध्यात्मिक होइन ।

समाजका सदस्यहरूका आकाङक्षा र आवश्यकताहरू प्रायः समान हुन्छन् । समाजका सदस्यहरूको खाने, लाउने, बस्ने आवश्यकता प्रायः सबै समान हुन्छन् । उनीहरूको जीविकाको साधन पनि हुन्छ । त्यसका लागि आफ्नो वृत्ति–विकासका लागि सबैले समान अवसर पाउनुपर्छ ।

अब, हामी समानताका यी दुई स्वयंसिद्ध पूर्वावस्था प्राप्त भएपछि समानताको अर्थ स्पष्ट भएको पाउँछौं ।

समाजवादले राजनीतिक र आर्थिक अर्थमा समानतालाई स्वीकार गरेको छ । राजनीतिक अर्थमा समाजवाद भनेको प्रजातन्त्र हो । अर्थात्, सरकार वा राज्यमा निहित समाजको सर्वोपरि शक्तिको सञ्चालन जनताका प्रतिनिधिहरूले गर्नुपर्छ । ऐन–कानुन व्यवस्था, दण्ड–विधान आदि जनप्रतिनिधिहरूबाट निर्माण हुनुपर्छ । 

समाजको सार्वभौमिकता राज्य वा सरकारमा निहित हुन्छ । समाजका अरू तत्वहरूले बनाएको नियम–कानुनभन्दा त्यसले बनाएको विधान वा ऐन धेरै अधिकारसम्पन्न हुन्छ ।

त्यो सार्वभौमशक्तिले समाजका प्रत्येक स्तरमा आफ्नो शक्ति प्रदर्शन गर्न सक्छ र समाजका प्रत्येक सरकारलाई आफूले बनाएको विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ । यत्रो शक्तिको सञ्चालन एउटा शक्तिविशेष राजाले होस् वा कुनै तानाशाहले गर्नुहुँदैन भन्ने प्रजातन्त्रको सिद्धान्त हो । 

यस सिद्धान्तबाट केही व्यावहारिक राजनीतिक परिस्थिति निस्किन्छन् :

१. जनताका प्रतिनिधिको सरकार गठन हनुपर्छ ।

२. चुनाव वास्तविक हुनुपर्छ, अर्थात् जनतालाई आफ्नो प्रतिनिधि रोज्ने ठाउँमा वीरबहादरलाई चुन्न पाउने स्वतन्त्रता पाउनुपर्छ । चुनाव भनेको विभिन्न स्वतन्त्रता हुनुपर्छ । उसले राम शर्माको ठाउँमा पूर्णबहाद्र वा पूर्णबहादरको व्यक्तिहरूबीचको चुनाव हो ।

३. चुनावको स्वतन्त्रताको प्रश्न पूरा हनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न ’वादविवादको स्वतन्त्रता’ आउँछ । वादविवादको स्वतन्त्रता भनेको वाकस्वतन्त्रता हो ।

प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ भन्ने हो । विभिन्न विचारधारा वा मतहरूको स्वतन्त्रता भएपछि मात्र चुनावको प्रश्न उठ्छ र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो आउँछ ।

प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ भन्ने हो । विभिन्न विचारधारा वा मतहरूको स्वतन्त्रता भएपछि मात्र चुनावको प्रश्न उठ्छ र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो आउँछ ।

४. यसका साथसाथै यसैसँग संलग्न सङ्गठनको स्वतन्त्रताको पनि प्रश्न छ । एकै मत वा विचार भएका व्यक्तिहरूले सामूहिक आवाज उठाउन पाउने अधिकारलाई सङ्गठनको स्वतन्त्रता भन्छन् ।

सङ्गठनको अधिकार प्राप्त नभएपछि मत–मतान्तरमा कतापट्टि जाने भन्ने कुरा थाहा पाइँदैन । त्यस अवस्थामा चुनाव अर्थहीन हुन पुग्छ । त्यसो हुनाले नागरिकहरूले पार्टी खोल्न पाउने स्वतन्त्रता पाउनुपर्छ ।

५. चार–पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ । एकचोटि चुनाव भएपछि पार्टीलाई सदाका लागि राजकीय अधिकार प्राप्त भइरहँदैन ।

सरकारमा रहेको पार्टीले जनतासमक्ष आफ्नो कार्यकलापको लेखाजोखाको हिसाब बुझाउन आउनुपर्छ । सरकारमा रहेका पार्टी र विरोधमा रहेको पार्टीलाई समान अधिकार उपलब्ध हुनु र दुवैले चुनावको समान अवसर पाउनु यसको अर्थ हुन्छ ।

६. माथि उल्लेख गरिएका अधिकारहरू सबै नागरिकले समान रूपले पाउनुपर्छ । यी अधिकार धनीलाई मात्र होइन, गरिबलाई पनि, शिक्षितलाई मात्र होइन, अशिक्षितलाई पनि, तागाधारीलाई मात्र होइन, मतवालीलाई पनि, लोग्नेमानिसलाई मात्र होइन, स्वास्नीमानिसलाई पनि, गोरालाई मात्र होइन, कालालाई पनि सबैलाई कुनै किसिमको भेदभाव नराखी सुरक्षित रहनुपर्छ ।

व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सबै अधिकार एवम् स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ भन्ठान्नु पर्छ । समाजवादको एउटा मुख्य पक्ष प्रजातन्त्रको पक्ष हो । प्रजातन्त्र नै समाजवादमा निहित समानताको राजनीतिक रूप हो ।

समाजवादमा निहित समानताको अर्को रूप आर्थिक समानता हो । सबै नागरिकहरू आर्थिक दृष्टिमा समान हुनुपर्छ । समाजवाद आर्थिक विषमताको घोर विरोधी छ । आर्थिक समानताको प्रश्न राजनीतिक समानताको जस्तो एउटा क्रान्तिकारी कदममा एउटै निर्णायक कारबाहीमा सीमित छैन ।

अर्थात्, राजनीतिक समानताको निर्णय हुने बित्तिकै त्यो एक्कैचोटि कार्यान्वयन पनि हुनसक्छ । किनभने, मुख्यतः यो नैतिक निर्णय हो । एउटै ठूलो क्रान्तिकारीले विधानद्वारा सबैका लागि राजनीतिक अधिकार उपलब्ध गराउन सक्दछ । तर समाजको उत्पादन शक्तिमा आर्थिक समानता निर्भर गर्छ । 

समाज उत्पादनको दृष्टिबाट पिछडिएको छ भने आर्थिक समानता सम्भव छैन । मैले दूधको एउटा उदाहरण दिने गरेको छु ।

एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दूधको उत्पादन सय माना मात्र छ भने गणितको न्यायले समान गर्ने नाउँमा सबैलाई एक–एक चम्चा दूध दिन सकिएला, तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ ।

दूधको उत्पादन सय माना मात्र छ भने गणितको न्यायले समान गर्ने नाउँमा सबैलाई एक–एक चम्चा दूध दिन सकिएला, तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ ।

यस्तो स्थितिमा केही मुठ्ठीभर मानिसले दूध पाउँछन्, अरूले दूधबिना नै रहनुपर्छ । उत्पादनको यो न्यायलाई घोषणाद्वारा एकैचोटि बदर गर्न सकिँदैन । दूधको उत्पादनको वृद्धि गर्नपट्टि लाग्नुपर्छ । पर्याप्त मात्रामा दूधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ । 

उदाहरणका लागि दूधको चर्चा मैले यहाँ गरेँ । जुनसुकै जिनिस भए पनि यो न्याय त्यसमा लागू हुन्छ । त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिवृद्धि अपेक्षित हुन्छ ।

यही आर्थिक समस्यालाई नबुझेर समानताको चर्चा गर्ने वा समानतालाई व्यवहारमा ल्याउन खोज्ने मार्क्सपूर्वका समाजवादीलाई एंगेल्सले काल्पनिक समाजवादी भनेका छन् । मार्क्सले समाजवादको आर्थिक पक्षलाई खुब राम्ररी बुझेका थिए ।

त्यसो हुनाले उनले उत्पादनको क्षमताको अत्यधिक अभिवृद्धि हुन्ने पुँजीवादलाई ऐतिहासिक आवश्यकता मानेका छन् र खास ऐतिहासिक कालका लागि पुँजीवाद प्रगतिशील हुन्छ पनि भनेका छन् । एंगेल्सले मार्क्सको यस्तो विचारलाई अरू मार्क्सपूर्वका समाजवादीहरूको विचारसँग दाँज्दा वैज्ञानिक समाजवादको संज्ञा दिएका छन् । 

एउटै कार्य र एउटा नियमले आर्थिक समस्याहरूको समाधान हुँदैन । यो एउटा लामो प्रक्रिया हो । रूसमा क्रान्ति भएको ६० वर्षभन्दा बढी भइसक्यो ।

त्यहाँ आर्थिक समानतापट्टि दृढतासँग र सैद्धान्तिक आधारमा पाइलो चाल्दा पनि समानताको लक्ष्य प्राप्त भइसकेको छैन । यस सन्दर्भमा विचारणीय कुरो के छ भने समाजवादमा उत्पादन र वितरणमा नीतिनिर्धारण गर्दा समाजको कल्याणमाथि विशेष जोड दिइन्छ, अरू व्यवस्थामा भने त्यतापट्टि ध्यान रहँदैन ।

यसरी समाजवादको मौलिक आधारलाई ध्यानमा राखेर मलाई सोधिएको–भारत, अमेरिका, चीन, रूस र नेपालको समाजवादमा के फरक छ र वास्तविक समाजवाद के हो भन्ने प्रश्नको उत्तर हुन्छ– विभिन्न मुलुकमा राजनीति गरिन्छ । जहाँका लागि पनि समाजवाद एउटै कुरा हो ।

अमेरिकामा समाजवादको समानता र आर्थिक समानताको उपलब्धि वा अनुपलव्धिमा मात्रात्मक फरक लक्ष्य भनेको काला–गोराको भेदको लोप हुनु, अझ जनतालाई व्यवहारमा समानता उपलब्ध हुन्, उद्योगधन्दाको सामाजिकीकरण र आमजनताको धेरैभन्दा धेरै कल्याण हुने किसिमले तिनको सञ्चालन, दूषित वातावरण हुन नदिई उत्पादनको एकलौटी हुन नदिनु आदि छन् ।

त्यहाँ राजनीतिक समानता छ, त्यसो हुनाले समाजवादको एउटा मुख्य लक्ष्य प्राप्त भइसकेको छ । आर्थिक समानताका सम्बन्धमा प्रचार मात्रामा उत्पादन गर्न सम्भव भइसकेको छ । 

वितरणको सम्बन्धमा इमानदारीसँग लागू गरिएमा केही हदसम्म समानताको लक्ष्य नजिकै त्यो समाज पुग्न सक्ने किसिमका श्रमिक नियमहरू बनिसकेका छन् । यस दृष्टिबाट स्विडेनको समाज समाजवादको लक्ष्यपट्टि धेरै हदसम्म पुगिसकेको छ ।

रुसमा समाजवादको अर्थ मैले अघि चर्चा गरिसकेको प्रजातन्त्र हो । किनभने आर्थिक समानतापट्टि उनीहरूको ध्यान छ र त्यस सम्बन्धमा पञ्चवर्षीय योजनाअन्तर्गत कार्यक्रम पनि बन्दै गएको छ । तर जनतालाई प्रजातन्त्र भने प्राप्त छैन । समाजवादको यो अङ्ग अपुरो छ । 

रुसमा समाजवादको अर्थ मैले अघि चर्चा गरिसकेको प्रजातन्त्र हो । किनभने आर्थिक समानतापट्टि उनीहरूको ध्यान छ र त्यस सम्बन्धमा पञ्चवर्षीय योजनाअन्तर्गत कार्यक्रम पनि बन्दै गएको छ । तर जनतालाई प्रजातन्त्र भने प्राप्त छैन । समाजवादको यो अङ्ग अपुरो छ । 

आर्थिक समानता बारम्बार प्रयोग र कार्यान्वयन भइरहने कार्यक्रमको क्षेत्रअन्तर्गत पर्ने विषय हो भन्ने मेरो भनाइलाई रुसको दृष्टान्तले पुष्टि गरेको छ । त्यहाँ अझै धनी–गरिब छन् । अझै तलबमा असमानता छ । कतिले गाँस–बासको पनि राम्रो व्यवस्था पाएका छैनन् ।

यद्यपि, रुसमा सम्पन्न १९१७ को क्रान्तिपछि सैद्धान्तिक रूपबाट शीघ्राशीघ्र समाजवाद ल्याउने प्रयत्न भइरहेको छ । चीनमा पनि त्यही कुरा छ. तर प्रजातन्त्र छैन । त्यसो हुनाले राजनीतिक समानता छैन । आर्थिक पक्ष मात्र समाजवाद होइन । जनताले राजनीतिक स्वतन्त्रता उपभोग गर्न पाएन भने समानता पनि केवल प्रयोगको विषय मात्र भएर जान्छ ।

हिन्दुस्तानमा प्रजातन्त्र छ । तर, आर्थिक विषमता पनि अत्यधिक छ । साथै, उत्पादनको स्तर पनि अत्यन्त निम्न छ । हिन्दुस्तानमा देशलाई समाजवादी दिशापट्टि अग्रसर गराउन आर्थिक नीति, कर नीति, औद्योगिक नीति आदिका सम्बन्धमा उग्र वाद–विवाद रहेको छ ।

आर्थिक समस्या कार्यक्रमअन्तर्गत पर्ने हुनाले लक्ष्य प्राप्तिका लागि व्यावहारिक रूपमा कुन चाहिँ नीति वा योजना बैंक छ भन्ने कुरालाई लिएर हिन्दुस्तानमा मतभिन्नता छ । प्रजातान्त्रिक देश भएकाले यो मतभिन्नता जनताको सामु व्यापक रूपमा आउँछ ।

मैले समाजवादको मौलिक आधार प्रस्ट्याउने प्रयत्न गरेँ । त्यस आधारलाई केपछि नेपालका लागि समाजवाद भनेको के हो भन्न एकदमै सजिलो पर्छ । नेपालमा राजनीतिक समानता पनि छैन, आर्थिक समानता पनि छैन ।

त्यसो हुनाले दुवै प्रकारका समानताका लागि प्रयत्नशील हुनु, सङ्घर्ष गर्नु नै समाजवाद हो । यसप्रकार, अहिलेको सन्दर्भमा नेपालमा प्रजातन्त्रको स्थापना समाजवादको मुख्य ध्येय छ । 

आर्थिक समानताको प्राप्ति एउटा लामो प्रक्रिया हो । त्यसलाई एउटा जस्तोसुकै ठूलो निर्णयद्वारा साकार गराउन सकिँदैन ।

जुनसुकै सिद्धान्त वा नाराको दुहाई दिए पनि, त्यसबाट देशको राष्ट्रिय आम्दानीको वृद्धि भएको छ भने यो एउटा समाजवादको दिशातिर चालिएको गहकिलो र दरिलो पाइलो हो । अहिले नेपाली समाजवादीहरूलाई आर्थिक क्षेत्रमा समानताको आधारशिलाको स्थापना गर्ने जिम्मेवारी छ । 

तसर्थ, नेपालमा समाजवाद भनेको :

१. व्यक्तिगत स्वतन्त्रता,

२. मौलिक अधिकार,

३. पार्टी गठन गर्न पाउने अधिकार,

४. बालिग मताधिकारबाट चुनावको व्यवस्था,

५. प्रधानमन्त्री तथा मन्त्रिमण्डलको संसद्धति उत्तरदायित्व,

६. राजाको वैधानिक स्थान,

७. कानुनी शासन,

८. जाली फटाहाहरूको उन्मूलन,

९. पिछडिएका वर्ग र जातिलाई उनीहरूको उन्नतिका लागि हर क्षेत्रमा विशेष तात्कालिक प्रोत्साहन,

१०. शासनको विकेन्द्रीकरण,

११. झोडा समस्या र नयाँ बसोबासको तत्कालीन समाधान तथा जोत्ने व्यक्तिहरूका नाउँमा जमिनलाई दर्ता गराउने ।

१२. राष्ट्रिय हितलाई ध्यानमा राखेर भूतपूर्व सैनिकहरूलाई विकास कार्यमा बढीभन्दा बढी मौका दिने ।

१३. उत्पादन वृद्धिका लागि राष्ट्रिय पुँजीपतिलाई दुरुपयोग हुनबाट जोगाउने व्यवस्था ।

१४. किसानहरूको कानुनी अधिकारको दृढतापूर्वक संरक्षण ।

१५. प्रजातान्त्रिक नियमानुसार शिक्षा पद्धतिमा सुधार र शिक्षण संस्थाहरूको स्वतन्त्रताको रक्षा ।

१६. मजदुरहरूको कामको सुरक्षा गरेर शोषणको अन्त्य ।

१७. तटस्थ परराष्ट्र नीतिको अक्षरशः तथा इमानदारीपूर्वक पालना ।

(स्रोत : तरुण, वाराणसीमा प्रकाशित, पुन प्रकाशन : प्रजातान्त्रिक समाजवाद)

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ३ : ४५ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।