काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष महाधिवेशनमा व्यस्त रहँदा पूर्वसभापति शेरबहादुर देउवा खेमा भने मङ्सिर महिनामा बेग्लै महाधिवेशन गर्ने तयारीमा लागेको छ ।
देउवा पक्षले जारी महाधिवेशनलाई कसरी हेरिरहेको छ ? संस्थापन पक्षको महाधिवेशनलाई देउवा पक्षले ‘मिस’ गरिरहेको छ कि छैन ? यी र यस्तै विषयमा हामीले देउवा पक्षका नेता प्रकाशशरण महतसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-
संस्थापन पक्षको महाधिवेशनलाई कसरी हेरिरहनुभएको छ ?
कसरी हेर्ने र ? उहाँले गर्नु नपर्ने काम गरिरहनुभएको छ । एकताको महाधिवेशन हुन सक्थ्यो, उहाँहरु आफैँ एकलौटी जान खोज्नुभयो । व्यक्तिगत महत्वाकांक्षाका लागि पार्टीभित्रको आपसी स्वतन्त्रता र एकतालाई तिलाञ्जली दिनुभयो । त्यहाँ उपस्थित हुने साथीहरू पनि विविध कारणले जोडिनुभएको छ ।
उपस्थिति त बृहत् नै देखिन्छ । तपाईँहरू केही मात्रै छुट्नुभयो ?
मङ्सिरमा हेर्नुहोला, योभन्दा बढी उपस्थिति हुनुहुन्छ । तल्लो तहमै खुकुलो बनाएपछि त उपस्थिति हुने नै भयो । पहिलाभन्दा डबल कांग्रेसीको सदस्यता थियो, त्यो भएर मान्छे त आउने नै भए । केन्द्रीय समितिको आकार बढाएको छ, १५-१५ जना सहमहामन्त्री बनाएको छ । निर्वाचनको मुखमा विधान संशोधन गरेर आफू अनुकूल बनाएको छ ।
यो भएपछि यसै पनि उपस्थिति बढाउने र नेता व्यवस्थापन गर्ने थलो त भइहाल्यो नि । उहाँहरुले यो महाधिवेशनलाई नै हल्का बनाउनुभयो । यो महाधिवेशन कुनै नीति सिद्धान्त र विचारको महाधिवेशन होइन । केवल नेता व्यवस्थापन र संख्या बढाउने महाधिवेशन देखियो ।
पदाधिकारी थपेको विषयमा तपाईँहरू दुःखी हो ?
अहिले उहाँहरूको मुखैमा विधान छ । भोलि कसैलाई व्यवस्थापन गर्न मन लागे फेरि मुखैबाट फेर्नुहुन्छ । गगनजीले मुखैमा विधान बोकेर हिँड्नुभएको छ, आफू दह्रो हुन जतिबेला मन लाग्यो, फ्याट्टै परिवर्तन गर्दिनुहुन्छ । उहाँहरुले विधान फेर्दाफेर्दै कांग्रेस सक्ने बाटोतिर लाग्नुभएको छ । हिजो गगनजी नै भन्नुहुन्थ्यो नि- निर्वाचन अथवा महाधिवेशनको मुखैमा विधान परिवर्तन गर्नु हुँदैन भनेर ।
आज उहाँले कुन मुखले विशेष महाधिवेशनमा एउटा विधान र नियमित महाधिवेशनमा फेरि अर्को विधान बनाउनु भएको ? उहाँहरुको मुखैमा विधान छ । उहाँहरूको विधान दिनदिनै फेरिन्छ । कुनै निश्चित समय नै चाहिँदैन, यसले गर्दा नेपाली कांग्रेसको मर्म र भावना नै सिद्धिसक्यो । किन महाधिवेशन भएको हो, किन हामी प्रतिनिधि बनेका हौँ भन्ने कुरा नै धेरैलाई थाहा छैन ।
यहाँहरुले महाधिवेशन मिस गर्नुभयो कि भएन ?
मिस भएन । किनभने गलत बाटोमा गएको महाधिवेशनलाई मिस गर्ने कुरा नै हुँदैन । महाधिवेशन गलत थियो, उहाँहरू गलत ट्रयाकमा जानुभयो । एकताको महाधिवेशन हुन सकेन । नेपाली कांग्रेसको मूल्य मान्यतालाई कायम राखेर अधिवेशन हुन सकेन । यो अधिवेशनलाई हामीले मिस गरेनौँ । तर हाम्रा साथीहरूमध्ये केहीलाई भने मिस गर्यौँ । महाधिवेशनको मर्म र भावनाअनुरूप नहुनु दुखद कुरा हो ।
यो महाधिवेशनबाट पुनः त्यही नेतृत्व आउने सम्भावना छ, के भन्नुहुन्छ ?
नेपाली कांग्रेसको नेतृत्वमा आउनका लागि उहाँले पदको लोभ गरेर विशेष महाधिवेशन गर्नुभएको हो । अहिले नियमितको नाममा पनि पदमै उहाँको लोभ छ । उहाँलाई पद चाहिएको रहेछ । १५औँ गर्नुपर्ने आवश्यकता नै थिएन । गत पुषमा महाधिवेशन नगरी वैशाखसम्म पर्खिदिएको भए पनि उहाँहरु आउने बाटो बन्थ्यो ।

उहाँमा अरुले मेरो पद खाइदिहाल्छ कि भन्ने लोभ देखियो । आफूले जे भन्यो त्यही अनुसार चल्ने पार्टी बनाउन खोज्नुभयो । यो निर्णय एकदमै गलत छ । गगनजीहरू एकदिन पछुताउनुहुनेछ । अहिले मलाई धेरै केही भन्नु छैन । तर उहाँहरु एकदिन पछुताउनुहुनेछ ।
के सुझाव दिन चाहनुहुन्छ ?
अहिले उहाँहरू सुझाव सुन्ने ठाउँमा हुनुहुन्न । हामीले दिएको सुझाव सुनिदिएको भए त एकताको महाधिवेशन गर्नुहुन्थ्यो । विचार र विमर्शको महाधिवेशन गर्नुहोस् भन्ने थियौँ, तर त्यो अवस्था देखिएन ।
अर्को कुरा राजेन्द्र खड्कीलाई तपाईँहरूले गगनसँग सभापति लड्न पठाउनुभएको रहेछ हैन ?
(हाँसो) हामी यस्तो बाटोमा लागेका छैनौँ । हामीले यस्ता किसिमका गतिविधि गर्दैनौँ । उहाँ एक्लै अधिवेशन सकेर आफैँ सभापति बन्ने दौडमा हुनुहुन्छ । उहाँहरुले यो पार्टीलाई उचाइमा पुर्याउनु होला, यसलाई संरक्षण गरेर लैजानुहोला भन्ने हामीलाई विश्वास छैन । हामी अहिले अदालतको पर्खाइमा मात्रै बसेको हो ।
तपाईँहरू अहिले चाहिँ के गर्दै हुनुहुन्छ ?
वडा अधिवेशन करिब सकिन लाग्यो । अब दशैँअगाडि एक दुई वटा बाहेक पालिका र क्षेत्रीय अधिवेशन सक्ने तयारीमा छौँ । घटस्थापनाअगाडि प्राविधिक समस्या नभएका क्षेत्रहरूमा सक्ने तयारी छ । बाँकी चाहिँ जिल्ला प्रदेश केन्द्र दशैँपछि गर्छौँ । मङ्सिर २१, २२ र २३ मा चाहिँ केन्द्रीय अधिवेशन सम्पन्न हुन्छ ।
पार्टी कार्यालय देखिँदैन कसरी म्यानेज गर्नुभएको छ ?
हामीले चौर र चौतारामा समेत अधिवेशन गरेर सकाउने प्रयत्न गरिरहेका छौँ । हामी उल्लासमय ढंगबाट अधिवेशन गरिरहेका छौँ । थोरै खर्चमा धेरै मेहनतमा समाजवादी किसिमको अधिवेशन भइरहेको छ ।
पार्टी कार्यालय र डकुमेन्ट नहुँदा समस्या होला है ?
समस्या छैन । हामीले यतैबाट सबै तयारी गरेर पठाएका छौँ । कम्प्युटरमा पनि अपडेट गर्ने सिस्टम भएका कारण यसमा धेरै समस्या भोग्नुपरेको छैन । केही ससाना समस्या देखिए पनि ठूलो छैन ।
ठाउँठाउँ त तपाईँहरूको वडामा प्रतिनिधि नै भेटिएनन् होइन ?
त्यो चाहिँ यता महाधिवेशन गरिरहनुभएका साथीहरुले गरेको कुप्रचार हो । यस्तो कुनै समस्या हामीकहाँ आएको छैन । उल्लासमय तरिकाले नेताहरूको कार्यकर्ताहरूको उपस्थिति छ । हाम्रोमा उहाँको भन्दा साथीहरू धेरै देखिनुभएको छ ।
उसो भए तपाईँहरूकहाँ कति जति केन्द्रीय महाधिवेशनमा प्रतिनिधि आउनुहोला ?
सङ्ख्या प्रारम्भिक भएकाले अहिले यकिन गर्ने अवस्था छैन । तर, राम्रो सङ्ख्यामा साथीहरू आउनुहुन्छ । ६ हजार नाघ्छ । पार्टीलाई भद्रगोल गर्न विधि प्रक्रिया तोड्ने प्रयास भएकामा साथीहरूको मन दुखाइ छ ।
अदालतले तपाईँहरूलाई स्वीकृति दिएन भने पार्टी फुटाउने हो ?
आएन भने के गर्ने भन्ने विषयमा कल्पना गर्न सकेका छैनौँ । किनभने हामी विधि प्रक्रिया अनुसार हिँडिरहेका छौँ । नआएको खण्डमा सोच्ने कुरा छँदैछ । उहाँहरूको विशेष महाधिवेशन त्रुटिपूर्ण छ भनेर त सर्वोच्च अदालतले नै भनिसकेको छ । न्यायको पक्षमा नै निर्णय हुने हामीलाई पूर्ण विश्वास छ । हामीले पाएनौँ भने के हुन्छ भन्ने बारेमा सोचेका छैनौँ । पाउँछौँ नै ।
मङ्सिर अगाडि नै पार्टी एक हुँदैन ?
उहाँले महाधिवेशन स्थगित गरेको भए हुन्थ्यो, तर अब सम्भव छैन । कोर्टभन्दा बाहिर बसेर राजनीतिक सहमतिमा टुङ्ग्याउँ भनेको हो, उहाँहरु नै मान्नुभएन ।
अहिले शेरबहादुर देउवा चाहिँ के भन्नुहुन्छ ?
१४औं अधिवेशनबाट म निर्वाचित भएको हो, अब हाम्रो १५औं महाधिवेशन आउन लागेको छ भन्ने उहाँको कुरा छ । पन्ध्रौँ महाधिवेशन गरेर मैले नयाँ नेतृत्व हस्तान्तरण गर्छु अहिलेको महाधिवेशन के हो भन्ने कुरा मैले त्यति ख्याल गरेको छैन भन्ने उहाँको कुरा छ ।

तपाईँहरू जस्ता नेताले शेरबहादुर देउवालाई गगन थापासँग मिल्न दिनुभएन भन्ने पनि आरोप छ नि ?
शेरबहादुर देउवा दाई देश र पार्टीको नेतृत्व गरेको मान्छे, कसैले उचालेर उचालिनुहुन्छ र ? उहाँ स्वविवेकले नै यो निर्णयमा पुग्नुभएको हो । उहाँ आफैँले गरेको निर्णयलाई हामीले साथ दिएको हो । विशेष महाधिवेशन गर्ने साथीहरूले नै कांग्रेस चिरा पारेका कारण लोकतन्त्र खतरामा पुगेको छ ।
१४औं महाधिवेशनका केन्द्रीय सदस्यहरु गगन थापासँग जोडिएपछि तपाईँहरू चाहिँ रित्तै हुनुहुन्छ हैन ?
त्यसो भन्दा पनि हामी नीति, विचार र न्यायको पक्षमा छौँ कि छैनौं भन्ने कुरा महत्वपूर्ण हो । धेरै साथीहरू आउनु पनि हुन्छ हेर्दै जानुहोला । सङ्ख्याले यसलाई तौलन सक्दैन, आम कार्यकर्ताको मनोभावनाले तौलन सक्छ ।
अहिले डा. शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का चाहिँ कता हुनुहुन्छ ?
गगनजीहरूको महाधिवेशनमा सहभागी नभएपछि र विशेष महाधिवेशन पक्षलाई स्वीकार नगरेपछि उहाँहरु हाम्रै साथमा हुनुहुन्छ । विशेष महाधिवेशनको नेतृत्व गलत हो भनेपछि उहाँहरु हाम्रै पक्षमा हो भन्ने कुरा यसै पनि छर्लङ्ग छ । को कति सक्रिय रह्यो भन्ने कुरा फरक भयो । तर उहाँहरू अहिलेको महाधिवेशनमा नजानु नै हाम्रोमा रहनु हो ।














प्रतिक्रिया