बालासुर राक्षससँग जोडिएको बालाचतुर्दशीको रोचक प्रसंग « Khabarhub

बालासुर राक्षससँग जोडिएको बालाचतुर्दशीको रोचक प्रसंग


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मुलुकभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएको छ । गएराति दीप दान गरेर विहान सबेरै शिवालयमा शतबीज छरिएको हो ।

शतबीज अर्थात एक सय प्रकारका बिऊ भन्ने अर्थ लाग्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने गरिन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि मिसाएर छर्ने गरिन्छ ।

धर्मशास्त्र अनुसार धानका एक सय गेडा चढाए पनि पुग्छ । माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धार्मिक मान्यता छ।

बालासुर राक्षससँग जोडिएको प्रसंग

बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथन निकै रोचक छ । सो कथाअनुसार धेरै पहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

बालासुरले हुँदाहुँदा जलाइएका शवसमेत खोसेर श्लेषमान्तक वनमा लगेर खान थाले । शवको मासु खाँदाखाँदा बालासुर राक्षसको रूपमा परिणम भइसकेका थिए । यसरी मरेको शवको गिदी र मासुसमेत खान पल्किसकेका बालासुर राक्षसबाट मानिसहरु आजित बनेका थिए ।

त्यसबेलाका राजा भुवनकेशरीसमक्ष यस विषयमा मानिसहरुले अवगत गराए । राजाले बालासुर राक्षसलाई कसरी मार्न सकिन्छ भनेर छलफल गरे । अन्ततः बालासुरको मित वृषसिंहले मात्र उनलाई मार्न सक्ने अवस्था देखेपछि उसलाई बोलाउन पठाए र अनेक प्रलोभन दिएर मित बालासुरलाई मार्न राजी गराए ।

राजाको उर्दी पूरा गर्नका लागि वृषसिंहले मित बालासुरलाई मार्ने शक्ति पाउनका लागि महादेवको तपस्या गर्न बसे । वृषसिंहको तपस्याबाट प्रसन्न भएर महादेवले दर्शन दिँदै बालासुरलाई मार्ने शक्ति प्रदान गरेका थिए ।

महादेवको वरदान पाएर साथ वृषसिंह आफ्नो मित बालासुरलाई खुवाउन विभिन्न परिकार भरियाहरूलाई बोकाएर पशुपतिको आर्यघाटतिर लागेका थिए । निकै दिनदेखि भोको बालासुर आफ्नो मित वृषसिंह आएको देखेर खुसी भए । बालासुरलाई लगेको सम्पूर्ण खानेकुरा साथ जाँडरक्सीसमेत टन्न खुवाएर नसामा अचेत बनाए ।

त्यही मौका छोपेर वृषसिंह र भरिया मिलेर बालासुरलाई डोरीले बाँधेर इनारमा खसालेर मारिदिएका थिए । मितलाई मारेको पापबाट मुक्तिका लागि महादेवले वृषसिंहलाई भने, ‘बालासुर मारेको दिन पशुपतिमा बालासुरको टाउकोको प्रतीक मुकुट लगाइदिएर पूजा गरेमा मित मारेको पापबाट मुक्त हुनेछ ।’

यसरी पशुपति महादेवले बालासुरको मुकुट लगाउने दिन कसैले महादेवको दर्शन गरेर शतबीज छर्ने गर्छ, त्यसको सात पुस्तासम्मका सन्तानले मोक्ष प्राप्त गरी स्वर्गलोक जान पाउने विश्वासका साथ बालाचतुर्दशीका दिन शतबीज छर्ने चलन चलिआएको भनाइ छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीका दिन नेपाल अनि भारतका विभिन्न शिवालय आजका दिन शतबीज छर्ने तिर्थालुको घुइँचो लाग्ने गर्छ ।

काठमाडौँको पशुपतिलगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, स्याङ्जाको सरोवर तालको शिव मन्दिर, हरिहर गुफा, दाङको पाण्डवेश्वर मन्दिर, नवलपरासीको देवघाट, धनुषाको क्षिरेश्वरलगायत देशभरिका शिवालयमा  विशेष घुइँचो लाग्ने गर्छ ।

बालाचतुर्दशीको मेलाको अवसरमा खोटाङको हलेसी महादेवस्थानमा सात दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलिङ, बिहार, भुटानलगायतका स्थानबाट दर्शनार्थी आउने गर्छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ०६ बजे

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक