काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको क्यानाडा विरुद्धको खेलमा ओमनले सहज जित दर्ता गरेको छ । ओमनविरुद्ध क्यानाडाले ४१ रनको सहज जित निकालेको हो । ओमनले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको क्यानाडाले ४८ ओभरमा सबै विकेट गुमाउँदै केबल २ सय २२ रन बनायो । ओमानको यो जितसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको छ ।
क्यानाडाका लागि आदित्य वर्द्धराजनले ८१ बलमा ६४ रन बनाए । यस क्रममा उनले २ छक्का र ३ चौका प्रहार गरे । त्यसैगरी, हर्ष थाकेरले ५३ बलमा ४० रन बनाए । यस क्रममा उनले एक छक्का र दुई चौका प्रहार गरे ।
त्यस्तै, आरोन जोनसनले ५८ बलमा २९ रन बनाए । यस क्रममा उनले एक छक्का र दुई चौका प्रहार गरे । बलिङतर्फ ओमनका हस्नैन शाहले चार तथा शकिल अहमद र समय श्रीवास्तवले समान तीन विकेट लिए ।
यसअघि ओमनको अल अमिरात मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले इनिङ सकिनु ५ बलअघि सबै विकेट गुमाउँदै २ सय ६३ रन बनायो । ओमनका लागि हस्नैन उल वहाबले ७७ बलमा ९३ रन बनाए । यस क्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरे ।
त्यसैगरी, मुजिबुर अलीले ७३ बलमा ३९ रन जोडे । यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे । बलिङतर्फ क्यानाडाका हर्ष थाकेरले चार विकेट लिए । त्यस्तै, अजयवीर हुन्दयाल र शील पटेलले समान एक विकेट लिए ।
अब अर्को शृङ्खलामा क्यानाडा र ओमन दुबै टिमले नेपालको सामना गर्नेछन् । नेपालले क्यानाडाविरुद्ध आगामी आइतबार पहिलो खेल खेल्नेछ भने ओमनविरुद्ध मंगलबार खेल्नेछ ।
लिग–२ अन्तर्गत आजै अमेरिकाको डालसमा नामिबिया र यूएईबीच प्रतिस्पर्धा हुँदैछ ।
कस्तो बन्दै छ लिग २ को समीकरण ?
लिग–२ मा हालसम्म ३२ खेल खेलेको नेपालले ११ खेलमा जित, १९ खेलमा हार र दुई खेलमा नतिजाविहीन हुँदै २४ अंक जोडेको छ । अंकतालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
२९ खेलबाट ३३ अंक जोडेको ओमन भने तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै, ३३ खेलबाट २५ अंक जोडेको क्यानाडा छैटौँ स्थानमा रहेको छ ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको ३४ खेलबाट ४७ अंक छ । दोस्रो स्थानको स्कटल्याण्डको ३६ खेलबाट ४५ अंक रहेको छ भने तेस्रो स्थानको नेदरल्याण्ड्सको २९ खेलबाट ३३ अंक छ ।
पाचौँ स्थानको नामिबियाको ३४ खेलबाट २९ अंक छ । पुछारमा रहेको यूएईको ३० खेलबाट १९ अंक छ ।
लिग–२ का शीर्ष चार टोलीले सीधै सन् २०२७ को एक दिवसीय विश्वकप छनौट खेल्नेछन् । पुछारका चार टोलीले चाहिँ प्लेअफ खेल्ने मौका पाउनेछन् ।
प्लेअफमा सहभागी आठमध्ये शीर्ष चार टोलीले क्वालिफायरमा सहभागिता जनाउनेछन् । क्वालिफायरमा आईसीसी एकदिवसीय वरियताको पुछारमा रहेका दुई टिम, लिग–२ का शीर्ष चार टिम र प्लेअफका शीर्ष चार टिम गरी दश टिमको सहभागिता रहनेछ।
क्वालिफायरका उत्कृष्ट टिमहरुले विश्वकप खेल्ने मौका पाउनेछन् ।













प्रतिक्रिया