काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा विराटनगरले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।
खेलमा कार्णालीले छैठौँ विकेट गुमाएको छ । खेलको १३ ओभर ५ बलमा कर्णालीका पवन सर्राफ आउट भए । प्रतिश जिसीको बलमा उनी शुभम रन्जानेबाट क्याच आउट भए । आउट हुनुअघि २८ बलमा ३६ रनको विष्फोटक पारी खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।
विराटनगरका लागि ओपनर ब्याटर लोकेश बमले सर्वाधिक ८७ रन बनाए । ५२ बलको सामना गरेका उनले ३ चौका र ९ छक्का प्रहार गरे ।
त्यसैगरी, विराटनगरका एन्जेलो म्याथ्युजले ३१ तथा आन्द्रे रसेलले २७ रन बनाए ।
यता बलिङतर्फ कर्णालीका सोमपाल कामीले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले समान एक विकेट लिए ।
आफ्नो पहिलो खेलमा विराटनगर किंग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । उता कर्णालीले भने आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो ।
बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्यो ।














प्रतिक्रिया