काठमाडौं- पोल्यान्ड र भारतका प्रधानमन्त्रीहरूले सन् २०३० सम्ममा दुई देशबीचको व्यापारलाई दोब्बर बनाउने र खानी, जहाज निर्माण, ऊर्जा, अन्तरिक्ष तथा रक्षा प्रविधिमा सहकार्य विस्तार गर्ने घोषणा गरेका छन् । नयाँ दिल्लीमा भएको द्विपक्षीय बैठकपछि दुई प्रधानमन्त्रीबीच यस्तो सहमती भएको हो ।
दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोल्यान्ड भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गरिएपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले भारतको भ्रमण गरेका हुन् । विश्वका उदीयमान दुबै अर्थतन्त्रले आगामी वर्षहरूमा आर्थिक, लगानी र प्रविधि क्षेत्रमा सहकार्य अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका छन् । पोल्यान्डको जीडीपी यस वर्ष ३.५ प्रतिशतले र भारतको ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
यसले दुई मुलुकबीचको रणनीतिक साझेदारीका लागि ठूलो अवसर सिर्जना गरेको छ। हाल दुई देशबीच करिब ६ अर्ब डलरको व्यापार रहेकामा आउँदो डिसेम्बरमा हस्ताक्षर हुने अपेक्षा गरिएको युरोपेली युनियन र भारतबीचको व्यापार सम्झौताले यसलाई उल्लेख्य वृद्धि गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ। व्यापार घाटा घटाउन र भारतीय बजारमा प्रवेश गर्नका लागि टस्कको टोलीमा इतिहासकै ठूलो व्यापारिक प्रतिनिधिमण्डल संलग्न रहेको छ । यसलाई प्रधानमन्त्री मोदीले स्वागत गर्दै युवाहरूका लागि प्रविधि ह्याकाथनमार्फत स्टार्टअप सम्बन्ध सुदृढ गर्ने घोषणा पनि गरेका छन् ।
आर्थिक र प्रविधिसँगै दुई देशका नेताहरूले ऐतिहासिक र जनस्तरको सम्बन्धलाई समेत स्मरण गरेका छन्। दोस्रो विश्वयुद्धका क्रममा करिब १ हजार पोल्यान्डका बालबालिकाहरूलाई आश्रय दिने भारतीय महाराजा जाम साहबको योगदान र सन् २०२२ मा रुस-युक्रेन युद्धका क्रममा युक्रेनबाट भागेका भारतीय विद्यार्थीहरूलाई पोल्यान्डले गरेको सहयोगलाई दुवै नेताहरूले मानवताको उत्कृष्ट उदाहरणका रूपमा चर्चा गरे । साथै, हाल पोल्यान्डमा भारतीय श्रमिकहरूको सङ्ख्या बढेर तेस्रो ठूलो विदेशी श्रमिक समूह बनेको सन्दर्भमा शैक्षिक र जनस्तरको यो आदानप्रदानले आगामी पुस्तामा पोल्यान्ड-भारत मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया