काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स अफिसको कमाइ र फिल्मले बनाउने रेकर्डलाई मानिन्छ ।
धेरै फिल्म खेल्ने र लगातार हिट दिने प्रतिस्पर्धाबीच अभिनेत्री श्रद्धा कपूर भने फरक सोच राख्छिन् । उनी धेरै फिल्म खेल्नुभन्दा आफूलाई चित्त बुझ्ने कथा र चरित्र छनोट गर्न बढी समय दिन्छिन् । त्यसैले उनका फिल्म प्रायः दुई वर्षको अन्तरालमा मात्र दर्शकमाझ आउने गरेका छन् ।
सन् २०२४ मा ‘स्त्री २’बाट दर्शकमाझ आएकी श्रद्धाको त्यसयता कुनै फिल्म प्रदर्शनमा आएको छैन। अब उनी नयाँ फिल्म ‘ईठा’मार्फत पर्दामा फर्किने तयारीमा छिन्। फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले कम फिल्म खेल्नुको कारणबारे पनि खुलासा गरेकी छन्।
श्रद्धाका अनुसार, फिल्म छनोट गर्दा उनी त्यसले कति कमाइ गर्छ वा बक्स अफिसमा कस्तो रेकर्ड बनाउँछ भन्ने हिसाब गर्दिनन्। उनका लागि राम्रो कथा र दर्शकको मन छुने विषय नै पहिलो प्राथमिकता हो। आफूले कति रेकर्ड तोडेँ भन्नेभन्दा पनि आफूले कस्तो फिल्म गरेँ भन्ने कुराले अर्थ राख्ने उनको भनाइ छ। यही कारण कहिलेकाहीँ दुई वर्षसम्म पनि एउटा फिल्म मात्र गर्ने गरेको उनले बताइन्।
उनले फिल्मलाई महिला वा पुरुष प्रधान भनेर छुट्याउने प्रवृत्तिमाथि पनि प्रश्न उठाएकी छन्। फिल्म उद्योगलाई महिला वा पुरुष केन्द्रित कथाभन्दा पनि बलिया र राम्रा कथाको आवश्यकता रहेको उनको तर्क छ। उनका अनुसार, कथालाई कलाकारको लैङ्गिक पहिचानका आधारमा वर्गीकरण गर्नु उचित होइन।
अब ‘ईठा’मा भने श्रद्धा बिलकुलै फरक अवतारमा देखिँदै छिन्। डिसेम्बर ४ मा प्रदर्शन हुने यस फिल्ममा उनले महाराष्ट्रकी चर्चित तमाशा तथा लावणी कलाकार विठाबाई नारायणगावकरको भूमिका निर्वाह गरेकी छन्। संगीत र नृत्यसँगै एक कलाकारको संघर्षपूर्ण जीवनयात्रालाई फिल्मले पर्दामा उतार्नेछ।
लक्ष्मण उतेकरको निर्देशनमा बनेको फिल्ममा श्रद्धासँगै मोहम्मद जीशान अय्यूब र सिद्धार्थ जाधवको पनि मुख्य भूमिका छ। बक्स अफिसको दौडभन्दा कथालाई प्राथमिकता दिने श्रद्धाको यो नयाँ फिल्मले दर्शकको मन कत्तिको जित्छ, त्यो भने प्रदर्शनपछि थाहा हुनेछ।















प्रतिक्रिया