काठमाडौँ – अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार निजी विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा विमान दुर्घटना भएको हो ।
अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा सवार नौ जनाकै मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामासतर्फ उडेको थियो ।
विमान पाम बिच काउन्टीको क्रेस्टहेभननजिकै व्यस्त सडकछेउमा खसेको थियो । दुर्घटनापछि ठूलो आगलागी भएको थियो । फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले घटनालाई विनाशकारी दुर्घटनाको संज्ञा दिँदै जमिनमा रहेका अन्य व्यक्ति घाइते भएको खबर नआएको बताएका छन् ।
पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वारनजिकै खसेको थियो । दुर्घटनापछि उक्त बस्तीका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
दुर्घटना हुँदा राष्ट्रपति ट्रम्प मार–ए–लागोमै थिए । उनी दुर्घटनास्थलनजिकै रहेको राष्ट्रपति डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः५५ बजे एयर फोर्स वनमार्फत प्रस्थान गरेका थिए । विमान दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि नै उनले यात्रा सुरु गरेको जनाइएको छ ।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान सुरु गर्ने जनाएका छन् । दुर्घटनाअघि उक्त क्षेत्रमा आँधीबेहरी आएको बताइएको छ ।
हवाई सञ्चारको अभिलेखअनुसार दुर्घटनाअघि चालकदलले विमानमा मध्यमस्तरको हावाको अशान्ति र बरफ जम्ने समस्या रहेको जानकारी गराएका थिए । वर्षायुक्त क्षेत्रमा प्रवेश गरिरहेको विमानको उचाइ बढाउनुपर्ने बताएको केही समयपछि चालकदलले आपत्कालीन सङ्केत ‘मेडे’ दिएका थिए ।
अभिलेखमा विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको र केही सेकेन्डपछि झर्ने गति प्रतिमिनेट २० हजार फिट पुगेको उल्लेख छ । सम्पर्क टुट्नुअघि चालकदलका एक सदस्यले विमान जमिनतर्फ खसिरहेको जानकारी गराएका थिए । दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानपछि खुल्नेछ ।














प्रतिक्रिया