काठमाडौँ – काठमाडौंको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–१ का सुमनप्रसाद अधिकारी रहेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहान काठमाडौं महानगरपालिका–७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको भाडाको बसले ठक्कर दिएको थियो ।
प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको बसले बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अधिकारी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया