काठमाडौँ – रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएको छ । ह्याकरहरूले दुवै देशका नागरिकलाई विकिरणको खतरा र आणविक आक्रमण हुन सक्ने भन्दै नक्कली चेतावनी सन्देश पठाएका छन् ।
बीबीसीका अनुसार यस्ता गलत सन्देशका कारण केही समय नागरिकमा त्रास फैलिएको थियो ।
रुसको आपतकालीन मन्त्रालयले आफ्नो अलर्ट एपमा ठूलो स्तरको साइबर हमला भएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त आक्रमणमार्फत ह्याकरहरूले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका थिए । यद्यपि, देशको सार्वजनिक आपतकालीन चेतावनी प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
युक्रेनको हवाई आक्रमणसम्बन्धी चेतावनी दिने एपबाट पनि साइबर हमलापछि नक्कली सूचना पठाइएको घटना सार्वजनिक भएको छ ।
युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्सले उक्त साइबर हमलाका लागि रुसलाई जिम्मेवार ठहर्याएको छ । संस्थाले सामाजिक सञ्जाल एक्समार्फत युक्रेनको एयर रेड वार्निङ एपमा देखिएका केही नक्कली चेतावनीका तस्बिरसमेत सार्वजनिक गरेको छ ।
दुवै देशका आपतकालीन सूचना प्रणालीलाई लक्षित गरी भएका यी घटनाले युद्धका बेला डिजिटल माध्यमबाट फैलाइने गलत सूचनाको जोखिमलाई पुनः उजागर गरेको छ ।














प्रतिक्रिया