काठमाडाैँ – नेपालको आफ्नै मौलिक संवत्- नेपाल संवत्, जसले देशको इतिहास, पहिचान र संघर्षको लामो गाथा बोकेको छ।
नेपाल संवत् हाम्रो देशमा प्रचलित एक मौलिक राष्ट्रिय संवत् हो, जसको सुरुवात आजभन्दा ११४३ वर्षअघि भएको थियो। यसका प्रवर्तक हुन्, काठमाडौँका एक प्रतिष्ठित व्यापारी शंखधर साख्वाः।
इतिहास अनुसार, साख्वाःले आफ्नै कमाइबाट नेपाल मण्डलका गरिब तथा दासहरूको ऋण चुक्ता गरी उनीहरूलाई मुक्त गरेका थिए। नेपालीहरूको यो ठूलो ऋण मोचन गरिदिएको खुसीयालीमा, भक्तपुरका राजा राघवदेवको आज्ञा अनुसार वि.सं. ९३६ (सन् ८७९ अक्टोबर २०) देखि नेपाल संवत्को आधिकारिक सुरुवात भएको मानिन्छ। त्यति मात्र होइन, राजा राघवदेवले शंखधरको यो महान् योगदानको कदर गर्दै त्यस समयमा पशुपतिनाथ मन्दिर प्रवेशमा रोक लगाइएका शूद्र जातिलाई मन्दिर प्रवेशको अधिकार समेत प्रदान गरेका थिए।
यो संवत् कुनै एक समयमा निकै प्रभावशाली थियो। साख्वाःले प्रचलनमा ल्याएको नेपाल संवत् वि.सं. १९६० सम्म पनि नेपालको सरकारी कामकाजको भाषा र संवत्का रूपमा प्रयोग हुँदै आएको थियो। नेपालमा चन्द्र शमशेरको कार्यकालसम्म यो औपचारिक रूपमै प्रचलनमा थियो, तर पछि प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल संवत्को सट्टा विक्रम संवत्लाई अनिवार्य रूपमा प्रचलनमा ल्याए, जो अहिलेसम्म पनि कायम छ।
राणा शासनको त्यो कालो युगमा नेपाली भाषा, संस्कृति, नेपाल भाषा र नेपाल संवत्माथि चरम दमन भयो। जनतामा आफ्नै पहिचानप्रतिको चेतना जागेमा आफ्नो शासन सत्ता धरापमा पर्ने डर राणाहरूलाई थियो। उपत्यकामा बाहुल्य रहेको नेवार समुदायले आफ्नो पहिचान मेटिएको महसुस गर्यो र नेपाल संवत्को पक्षमा आन्दोलनको बीजारोपण भयो। यही पहिचानको लडाइँ लड्दा महाकवि सिद्धिदास महाजू र कवि चित्तधर ‘हृदय’ जस्ता महान् साहित्यकार समेत जेलनेल भोग्न बाध्य भए, जहाँ चित्तधरले त जेलमै प्राण त्याग गर्नुपर्यो।
एक सय चार वर्षको क्रूर राणा शासनको अन्त्य भए पनि २००७ सालपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भयो। यी कठिन समयमा पनि नेपाल संवत्लाई फेरि राष्ट्रिय संवत्को मान्यता दिलाउन नेवाः समुदायले निरन्तर र अहोरात्र संघर्ष गरिरह्यो।
अन्ततः लामो संघर्ष र बलिदानपछि, देशमा गणतन्त्र स्थापना भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा राज्यले आधिकारिक रूपमा नेपाल संवत्लाई ‘राष्ट्रिय संवत्’ को मान्यता प्रदान गर्यो। आज यो संवत् नेपालको राष्ट्रिय गौरव र पहिचानका रूपमा पुनस्र्थापित भई हामी माझ जीवन्त रहेको छ।














प्रतिक्रिया