बागलुङ – तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहर तथा बजारमा भित्रिन थालेका छन् । चाडपर्वका बेला च्याङ्ग्राको मासु खाने प्रचलन रहेकाले व्यापारीले हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याएर विभिन्न सहरमा बिक्रीका लागि पुर्याउन थालेका हुन् ।
पछिल्लो एक सातादेखि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै डोल्पा र तिब्बतबाट भेडाच्याङ्ग्रा बजारमा आउन थालेका छन् । व्यापारीले बागलुङ, पर्वत, कास्की, काठमाडौँ, चितवन र बुटवलसम्म च्याङ्ग्रा पुर्याउने तयारी गरेका छन् ।

अघिल्ला वर्षमा दसैँका बेला हजारौँको सङ्ख्यामा भेडाच्याङ्ग्रा भित्रिने गरे पनि यस वर्ष बाढीपहिरोका कारण आपूर्ति निकै कम भएको छ । बागलुङ आउने मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि दसैँका बेला च्याङ्ग्रा बजारसम्म ल्याउन समस्या भएको थियो ।
अहिले बागलुङ बजारमा रोज्जा च्याङ्ग्राको मूल्य ३५ हजारदेखि ५२ हजार रुपैयाँसम्म रहेको छ ।
डोल्पा–मुस्ताङ सीमाक्षेत्रबाट २३ दिनको लामो यात्रा गरेर बागलुङ आइपुगेका व्यापारी दिक्पाल गुरुङले यसपटक तीन सय च्याङ्ग्रा ल्याएको बताए। दसैँका बेला बाढीपहिरोका कारण च्याङ्ग्रा बजार झार्न नसकेको र अहिले मौसम अनुकूल भएपछि ल्याउन सम्भव भएको उनको भनाइ छ ।

‘हामीले ल्याएका च्याङ्ग्रा केही मुस्ताङका हुन् भने केही डोल्पाका हुन् । काठमाडौँसम्म पुर्याउने योजना छ’, गुरुङले भने।
बागलुङ बजारमा च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार २०० रुपैयाँसम्म पुगेको उपभोक्ता विजय पौडेलले बताए। गत वर्ष प्रतिकिलो एक हजार ९०० रुपैयाँसम्ममा च्याङ्ग्राको मासु पाइने गरेको उनले जानकारी दिए ।
बाढीपहिरोका कारण आपूर्ति घट्दा मूल्य बढेको हुन सक्ने पौडेलको अनुमान छ । हिमाली च्याङ्ग्राको मासु स्वादिष्ट र अन्य पशुको तुलनामा स्वस्थकर मानिने भएकाले चाडपर्वमा यसको माग बढी हुने गरेको उनले बताए।




















प्रतिक्रिया