देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा « Khabarhub

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि देउसीभैलोको मौलिकता हराउँदै गएको छ ।

तिहार सुरु भएसँगै बागलुङ बजारका चोक तथा बस्तीमा देउसीभैलोको चहलपहल बढेको छ । यस वर्ष शनिबारदेखि नै देउसीभैलो खेल्न थालिएको बजारमा ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाएर नाच्ने क्रम बढेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा सहभागी भएर रमाइरहेका छन् । तर, बजारमा देखिएको चहलपहलमा परम्परागत देउसीभैलोको शैली भने कमै देखिन्छ ।

कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने चलन थियो । गीतमार्फत गाउँघरका सुखदुःख, सामाजिक अवस्था र जनजीवनका कथाव्यथा प्रस्तुत गरिन्थ्यो । अहिले यस्ता मौलिक भाका र नाच क्रमशः हराउँदै गएका छन् । रेकर्ड गरिएका आधुनिक गीतमा नाच्ने र ठूलो आवाजमा सङ्गीत बजाउने प्रवृत्ति बढ्दा देउसीभैलोको परम्परागत शैली सङ्कटमा परेको छ ।

स्थानीय प्रेम श्रेष्ठले पछिल्लो समय देउसीभैलोको मौलिकतामा ठूलो परिवर्तन आएको बताए । पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताले मौलिक कला तथा संस्कृतिको संरक्षणमा पर्याप्त चासो नदिँदा परम्परागत देउसीभैलोको पहिचान कमजोर बन्दै गएको उनको भनाइ छ । ‘पहिले मादल, बाँसुरी र खैँजडी बजाएर गीतमार्फत कथा, व्यथा र सामाजिक सन्देश सुनाइन्थ्यो । अहिले देउसीभैलोमा आधुनिकता र विकृति मिसिँदै गएको छ’, श्रेष्ठले भने ।

बागलुङ बजारका रबीप्रसाद शर्माले आधुनिक प्रविधिको विकास र देखासिकीका कारण देउसीभैलोको मौलिकता हराउँदै गएको बताए । तिहार र देउसीभैलो नेपाली समाजको सांस्कृतिक पहिचान भएकाले यसको मौलिक स्वरूप जोगाउनुपर्ने उनको भनाइ छ । युवा पुस्ताले परम्परागत गीत, सङ्गीत र नाचप्रति चासो नदेखाउँदा आधुनिक तथा पश्चिमा शैली हाबी हुँदै गएको उनले बताए ।

यद्यपि, सबै देउसीभैलो टोली आधुनिक शैलीमा मात्र सीमित छैनन् । केही समूहले पूराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयास पनि गरिरहेका छन् । भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ ।

देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यम मात्र नभई नेपाली समाजको कला, संस्कृति, भाषा र सामूहिक एकताको अभिव्यक्ति पनि हो । समयअनुसार यसको शैलीमा परिवर्तन आउनु स्वाभाविक भए पनि मौलिक बाजा, भाका र नाचको संरक्षण हुन नसके तिहारसँग जोडिएको सांस्कृतिक पहिचान नै कमजोर बत्रे चिन्ता बढेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ९ : ०४ बजे

जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

अन्ताल्या– जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, वायु प्रदूषण र जलवायुसम्बन्धी

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

बागलुङ– तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक

झिनिया आम्दानीको स्रोत

म्याग्दी– बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ

चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर