वासिङ्टन– अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला सिनेटर क्रिस भ्यान होलेनले वर्तमान नेता चक शुमरलाई नेतृत्वका लागि चुनौती दिने घोषणा गरेका छन् ।
६७ वर्षीय भ्यान होलेनले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत सिनेट बहुमत नेताको पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रमिकविरुद्धको धाँधली र राजनीतिक भ्रष्टाचारका कारण अमेरिकी अर्थतन्त्र प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सम्बोधन गर्न नयाँ नेतृत्व आवश्यक रहेको बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई पराजित गर्दै डेमोक्रेटिक दलले कङ्ग्रेसका दुवै सदनको नियन्त्रण पुनः प्राप्त गरेको केही दिनमै भ्यान होलेनको घोषणाले पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा थप चर्काएको छ ।
७५ वर्षीय शुमरले नोभेम्बर ३ मा सम्पन्न निर्वाचनपछि सिनेटमा आफ्नो दलको नियन्त्रण पुनः स्थापित भए पनि नेतृत्वबाट हट्नुपर्ने दबाब सामना गर्दै आएका छन् । भ्यान होलेन भने उहाँलाई औपचारिक रूपमा चुनौती दिने पहिलो सिनेटर बनेका छन् ।
भ्यान होलेनलाई डेमोक्रेटिक दलका केही प्रगतिशील नेताहरूको समर्थन प्राप्त भएको छ । डेमोक्रेटिक दलसँग सहकार्य गर्दै आएका वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले यसै साता शुमरलाई नेतृत्वमा निरन्तरता दिन आफूले समर्थन नगर्ने बताएका हुन् ।
त्यस्तै, मिशिगनका नवनिर्वाचित सिनेटर अब्दुल एल–सायेदले पनि सामाजिक सञ्जाल एक्समार्फत भ्यान होलेनलाई समर्थन जनाएका छन् ।
यता, शुमरले पार्टीको भविष्यबारे हुने छलफललाई स्वागत गरे । उनले डेमोक्रेटिक नेताका रूपमा निरन्तरता पाउन आफूलाई आवश्यक समर्थन रहेको दाबी गर्दै नयाँ बहुमतको नेतृत्व गरेर अमेरिकी जनताका लागि काम गर्न तयार रहेको बताएका छन् ।














प्रतिक्रिया