काठमाडौं– राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ ।
दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।
‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित मनाइन थालिएको यस साताव्यापी कार्यक्रमअन्तर्गत करदाता सम्मानसँगै प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । विभागअन्तर्गतका कार्यालयले आ–आफ्नो क्षेत्रका तीन–तीन करदातालाई सम्मान गर्नेछन् ।
त्यसैगरी, करको दायरा विस्तार, करसम्बन्धी स्किम कार्यान्वयन, डिजिटल कर सेवा प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि प्रचारप्रसार गरिनेछ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कर सचेतनासम्बन्धी डिस्प्ले बोर्ड राखिनेछ ।
शैक्षिक परामर्श तथा ओभरसिज कम्पनीलाई लक्षित विशेष कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियान र स्थानीय तहका साथै कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षणसमेत दिइनेछ ।
करलाई राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष साझेदारीका रूपमा लिँदै कर प्रशासनलाई भ्रष्टाचारमुक्त, पारदर्शी, सरल र प्रविधिमैत्री बनाउने तथा करको प्रत्यक्ष प्रतिफल नागरिकलाई अनुभूति गराउन सरकार प्रतिबद्ध छ ।














प्रतिक्रिया