एजेन्सी- बंगलादेशमा राजनीतिक तनाव चुलिँदै जाँदा नोबेल पुरस्कार विजेता तथा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको घरमा आगजनी गरिएको छ । देशका विभिन्न जिल्लामा बम विस्फोट, आगजनी र तोडफोडका घटना पनि भएका छन् ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रस्तावित स्वदेश फिर्ती र प्रतिबन्धित अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दको पूर्वसन्ध्यामा बंगलादेशमा सुरक्षा चुनौती बढेको हो ।
बुधबार राति चट्टोग्रामको पञ्चलाइश क्षेत्रमा रहेको युनुसको पारिवारिक निवासमा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नियमित गस्तीमा रहेका प्रहरीले आगलागी देखेपछि घरभित्र प्रवेश गरी आगो निभाएका थिए । उक्त कोठामा पुराना फर्निचर र कपडा राखिएको बताइएको छ । घटनापछि प्रहरीले घर आसपासको सुरक्षा व्यवस्था कडा बनाएको छ भने आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ । यद्यपि घटनामा कुनै राजनीतिक सङ्गठनको संलग्नता पुष्टि भएको छैन ।
पछिल्ला केही दिनमा बंगलादेशका ६४ मध्ये कम्तीमा २८ जिल्लामा कच्चा बम विस्फोट र आगजनीका घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ । राजधानी ढाकामा पनि विभिन्न स्थानमा विस्फोट भएका छन् । सवारीसाधन तथा सम्पत्तिमा क्षति पुगेको छ ।
अन्य जिल्लामा पनि हिंसात्मक घटना भएका छन् । नारेलमा राजनीतिक र्यालीमाथि आक्रमण हुँदा स्थानीय राजनीतिक नेताहरूको मृत्यु भएको बताइएको छ । फरिदपुर र पिरोजपुरमा भएका छुट्टाछुट्टै घटनामा पनि मानवीय क्षति भएको छ । पिरोजपुरमा बसमा आगजनी भएपछि एक यातायात मजदुरको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
राजनीतिक तनाव बढ्दै गएपछि ढाकासहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित झडप र हिंसा रोक्न प्रहरीले तथा अर्धसैनिक बलले विभिन्न स्थानमा सुरक्षा तैनाथी बढाएका छन् ।














प्रतिक्रिया