काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खानले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव प्रमाणित गरेका छन् । रोमान्टिक अभिनेतादेखि एक्सन स्टारसम्मको यात्रा तय गरेका उनी विश्वका १०० महान् फिल्म स्टारको सूचीमा परेका छन् ।
अमेरिकी मनोरञ्जन म्यागजिन ‘भेराइटी’ले सार्वजनिक गरेको ‘१०० ग्रेटेस्ट मुभी स्टार्स अफ अल टाइम’ सूचीमा शाहरुख ९२औँ स्थानमा अटाएका हुन् । रोचक कुरा त के छ भने, यस सूचीमा स्थान बनाउने उनी एक्ला भारतीय अभिनेता हुन् ।
चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय शाहरुखले आफ्नो अभिनयमार्फत विश्वभरका दर्शकको मन जित्दै आएका छन् । भेराइटीले पनि उनलाई लामो समयदेखि भारतीय सिनेमामा प्रभाव जमाउँदै आएका अभिनेताका रूपमा प्रस्तुत गरेको छ । उनको अभिनय शैली, आकर्षक व्यक्तित्व र हास्यचेतलाई दर्शकमाझ लोकप्रिय हुनुका प्रमुख कारणका रूपमा म्यागजिनले उल्लेख गरेको छ ।
९० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका शाहरुखको करियर पनि निकै रोचक छ। सन् १९९३ मा प्रदर्शन भएका ‘बाजीगर’ र ‘डर’ जस्ता फिल्मबाट नकारात्मक भूमिकामा चर्चा कमाएका उनले पछि रोमान्टिक अभिनेताका रूपमा छुट्टै पहिचान बनाए ।
‘दिलवाले दुल्हनिया ले जायेंगे’, ‘दिल से’, ‘कुछ कुछ होता है’ र ‘देवदास’ जस्ता फिल्मले उनलाई भारतमा मात्र नभई विश्वभर लोकप्रिय बनाए ।
विशेषगरी रोमान्टिक भूमिकामा उनको लोकप्रियता यति व्यापक भयो कि दर्शकले उनलाई ‘किङ खान’को उपनाम दिए। तर, शाहरुखले आफूलाई रोमान्टिक अभिनेतामा मात्र सीमित राखेनन् । कमेडी, गम्भीर चरित्र र एक्सन भूमिकामार्फत पनि उनले आफ्नो अभिनय क्षमता प्रमाणित गर्दै आएका छन् ।
भेराइटीको सूचीमा पहिलो स्थानमा हलिउड अभिनेत्री मर्लिन मुनरो रहेकी छन् । दोस्रोमा हम्फ्रे बोगार्ट र तेस्रोमा चार्ली च्याप्लिन छन् । यस्तै, ज्याक निकोल्सन, क्याथरिन हेपबर्न, सिड्नी पोइटियर, मार्लन ब्रान्डो र टम क्रुजजस्ता चर्चित कलाकार पनि सूचीको शीर्ष स्थानमा छन् ।
सूचीमा शाहरुखभन्दा अगाडि रोबर्ट डाउनी जुनियर ७४औँ, रायन गोसलिङ ७७औँ, रोबर्ट प्याटिन्सन ८३औँ र टिमोथी चालमेट ८६औँ स्थानमा छन् । त्यस्तै, शाहरुखभन्दा पछाडि जोकिन फिनिक्स ९३औँ, एम्मा स्टोन ९४औँ र जेन्डाया ९८औँ स्थानमा परेका छन् ।
एक समय टेलिभिजनबाट अभिनय यात्रा सुरु गरेका शाहरुखले आज विश्वकै चर्चित फिल्म स्टारहरूसँग एउटै सूचीमा स्थान बनाउनु उनको लामो फिल्मी यात्राको उपलब्धिका रूपमा हेरिएको छ । भारतीय फिल्म उद्योगको प्रतिनिधित्व गर्दै उनले बनाएको यो पहिचानले उनको अन्तर्राष्ट्रिय लोकप्रियतालाई पनि थप उजागर गरेको छ ।
यसैबीच, शाहरुख आगामी फिल्म ‘किङ’मार्फत दर्शकमाझ आउने तयारीमा छन् । सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भइरहेको एक्सन थ्रिलर फिल्म डिसेम्बर २४ देखि विश्वव्यापी प्रदर्शनमा आउने तय भएको छ । रोमान्टिक छविबाट एक्सन स्टारसम्मको यात्रा तय गरेका शाहरुखलाई यसपटक नयाँ अवतारमा हेर्न दर्शक उत्साहित छन् ।














प्रतिक्रिया