काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयले बुझ्न इन्कार गरेपछि निजका अधिवक्तामार्फत म्याद बुझाउन आदेश दिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार निवेदक दानबहादुर कार्कीले दायर गरेको उत्प्रेषणको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
अदालतका तामेलदारले विपक्षी आईजीपी केसीका नाममा मंसिर ४ गते जारी भएको म्याद बुझाउन प्रहरी प्रधान कार्यालय जाँदा ‘सम्बन्धित व्यक्ति मिटिङमा जानुभएको र फर्किआउनुहुने’ भनी कार्यालय समयसम्म पर्खाएको तथा पछि कार्यालयले समेत म्याद बुझ्न इन्कार गरेकाले म्याद फिर्ता ल्याएको प्रतिवेदन अदालतमा पेस गरेका थिए।
सोमबारको सुनुवाइमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले उक्त म्याद बुझ्न नसकिएको र पुनः जारी भएमा फिर्ता नहुने व्यहोरा इजलाससमक्ष अनुरोध गरेका थिए। सोही अनुरोधबमोजिम इजलासले प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत आईजीपी केसीको नामको म्याद बुझाई नियमानुसार पेस गर्न आदेश गरेको हो।
साथै, इजलासले प्रस्तुत रिट निवेदनमा अन्तरनिहित विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई विचार गर्दा शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको देखिएको उल्लेख गर्दै मंसिर १९ गतेका लागि पेसी तोक्न र सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयसमेतलाई दिन आदेश दिएको छ।














प्रतिक्रिया