काठमाडौँ– एउटै मितिमा दुई ठूला बलिउड फिल्म प्रदर्शन हुने भएपछि बक्स अफिसमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो। तर, अभिनेता सलमान खानले भने आफ्नो फिल्म अभिनेत्री श्रद्धा कपूरको फिल्मसँग जुधेपछि उनीसँग माफी नै मागेका छन्।
सलमानको आगामी फिल्म ‘मातृभूमि स् मे वार रेस्ट इन पिस’ र श्रद्धाको ‘ईथा’ आगामी डिसेम्बर ४ अर्थात् मंसिर १८ गते एकसाथ प्रदर्शन हुँदैछन्। रोचक कुरा त के छ भने, यो मिति तय गर्दा श्रद्धाको फिल्म पनि सोही दिन आउनेबारे आफूलाई जानकारी नभएको सलमानले बताएका छन्।
हैदराबादमा आयोजित एबीपी लाइभ साउदर्न राइजिङ समिटमा कुराकानी गर्दै सलमानले आफूले श्रद्धालाई फोन गरेर माफी मागिसकेको खुलासा गरे। उनका अनुसार श्रद्धाले दुवै फिल्मका लागि पर्याप्त सिनेमा हल रहेको भन्दै आफूलाई सहज बनाएकी थिइन्। सलमानले पनि दर्शकलाई आफ्नो फिल्मसँगै श्रद्धाको फिल्म हेर्न आग्रह गरेका छन्।
कार्यक्रममा सलमानले आफ्नो फिल्मको रिलिज मिति पटक-पटक परिवर्तन हुनुको कारण पनि खुलाए। सञ्चारकर्मीका लागि गरिएको विशेष प्रदर्शनमा फिल्मको भिजुअल इफेक्ट्स (भीएफएक्स) मा कमजोरी देखिएपछि त्यसलाई सुधार्न थप समय लागेको उनको भनाइ छ। सुरुमा नोभेम्बर २० मा प्रदर्शन गर्ने तयारी भए पनि विभिन्न फिल्मसँग मिति जुध्ने भएपछि अन्ततः डिसेम्बर ४ तय गरिएको थियो।
अपूर्व लाखिया निर्देशित ‘मातृभूमि’ सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको झडपबाट प्रेरित छ। फिल्ममा सलमानसँगै चित्रांगदा सिंह र नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय छ।
त्यस्तै, लक्ष्मण उतेकर निर्देशित ‘ईथा’ मराठी लोककलाकार विठाबाई नारायणगाउँकरको जीवनमा आधारित बायोपिक हो। यसमा श्रद्धासँगै रणदीप हुड्डा, मोहम्मद जिसान अय्युब र सिद्धार्थ जाधवको अभिनय छ।














प्रतिक्रिया