एजेन्सी – आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी सैन्य विमानलाई निगरानी तथा बाहिर निकाल्न दक्षिण कोरियाले मङ्गलबार लडाकू विमान परिचालन गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार रुसी विमान कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए । यद्यपि, उनीहरूले दक्षिण कोरियाको वास्तविक क्षेत्रीय हवाई सीमा भने उल्लङ्घन नगरेको सेनाले स्पष्ट पारेको छ ।
रुसी विमान उल्लेउङ टापुको हवाई क्षेत्र नजिक पुगेपछि स्थानीय प्रशासनले बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो । तर, विमान जोखिम क्षेत्रबाट बाहिरिएपछि तीन मिनेटमै उक्त निर्देशन फिर्ता लिइएको थियो । घटनाबाट टापुमा कुनै ठूलो अवरोध नभएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियाली सेनाका प्रवक्ता जाङ डो–युङले रुसी सैन्य विमानले यस वर्ष पटक–पटक आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको बताएका छन् । पछिल्लो घटनालाई लिएर रुससँग कूटनीतिक विरोध जनाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् । यद्यपि, यसपटक कति वटा रुसी विमान प्रवेश गरेका थिए भन्नेबारे सेनाले खुलाएको छैन ।
हवाई रक्षा पहिचान क्षेत्र (एडीआईजेड) कुनै देशको वास्तविक क्षेत्रीय हवाई सीमाभन्दा बाहिरसम्म फैलिएको हुन्छ । यस्तो क्षेत्रमा प्रवेश गर्ने विदेशी विमानको पहिचान र निगरानी गरी सम्भावित सुरक्षा चुनौती सामना गर्न सेनालाई पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले यो क्षेत्र निर्धारण गरिएको हुन्छ ।
यसअघि सन् २०१९ मा पनि रुसी ए–५० प्रारम्भिक चेतावनी विमानले दक्षिण कोरियाको क्षेत्रीय हवाई सीमा उल्लङ्घन गरेको आरोप लागेको थियो । त्यसबेला दक्षिण कोरियाली लडाकू विमानले डोक्डो टापु नजिकै चेतावनीस्वरूप गोली चलाएका थिए । तर, मस्कोले उक्त आरोप अस्वीकार गरेको थियो ।
मङ्गलबारको घटना हुनुभन्दा एक साताअघि पनि दक्षिण कोरियाले रुसी विमानको निगरानी र प्रतिकार्यका लागि लडाकू विमान परिचालन गरेको थियो । यसैबीच, जापानले पनि आफ्नो दक्षिणपश्चिमी तट नजिक दुई वटा शङ्कास्पद रुसी विमान देखिएको भन्दै मस्कोसँग विरोध जनाएको थियो ।













प्रतिक्रिया