जियुक्वान- चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै तीन सदस्यीय चालकदलसहितको अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ। चीनले बुधबार दुई चिनियाँ र एक पाकिस्तानी अन्तरिक्ष यात्री बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान प्रक्षेपण गरेको हो।
उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको अन्तरिक्षयान निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। यस अभियानलाई चीन र पाकिस्तानबीचको अन्तरिक्ष सहकार्यमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
अभियानमा ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सहभागी छन्। यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित पहिलो संयुक्त उडान हो।
पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इकबालले यस अभियानले दुई देशबीच अन्तरिक्ष क्षेत्रमा थप सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्। उनले पाकिस्तानी अन्तरिक्ष यात्रीले आफ्नो देशको झण्डासँगै जनताको आशा र प्राविधिक आकांक्षा अन्तरिक्षमा पुर्याएको बताएका छन्।
यो अभियान सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको सम्झौताको हिस्सा हो। अभियानका क्रममा चालकदलले ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछ। पाकिस्तानी अन्तरिक्ष यात्री अलीले अन्तरिक्षमा प्रकाश संश्लेषण गर्ने साइनोब्याक्टेरियासम्बन्धी प्रयोग गर्ने कार्यक्रम छ। उनी शेन्झाउ–२३ अन्तरिक्षयानमार्फत पृथ्वी फर्कनेछन्।
अली र चिनियाँ अन्तरिक्ष यात्री वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि दुई पटक अन्तरिक्षमा पुगिसकेका छन्।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ। यता अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ।














प्रतिक्रिया