म्याग्दी– हुरीबतासका कारण विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ ।
म्याग्दीको दानादेखि मुस्ताङको थासाङ गाउँपालिका केन्द्र कोबाङसम्मको खण्डमा मङ्गलबार आएको हुरीबतासले विद्युत्का पोल ढाल्नुका साथै तार चुडाएपछि ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको हो । विद्युत् आपूर्ति बन्द हुँदा पर्यटकीय जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ ।
नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँका अनुसार क्षतिग्रस्त प्रसारण लाइन मर्मतको काम भइरहेको छ । प्राधिकरणका प्राविधिक र मजदुरको टोलीले काभ्रेदेखि घाँसा खण्डको जङ्गल क्षेत्रमा मङ्गलबारदेखि नै मर्मत कार्य गरिरहेको छ ।
हुरीबतासले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा समेत क्षति पुर्याएको छ । दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख र घारमा सुन्तलाका दाना झरेर क्षति पुगेको छ भने नारच्याङमा एक र काभ्रे गाउँमा तीन घरको छाना उडाएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म हावाको अधिकतम गति प्रतिसेकेन्ड ४.१ मिटर मापन गरिएको थियो ।














प्रतिक्रिया