प्रशोधन उद्योग बन्द भएपछि चियाबारी झाडीमा परिणत « Khabarhub

प्रशोधन उद्योग बन्द भएपछि चियाबारी झाडीमा परिणत


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – बजार र प्रशोधन उद्योगको अभावमा धनकुटाको पाख्रिबासमा व्यावसायिक चियाखेती गर्दै आएका किसानको लगानी जोखिममा परेको छ ।

उत्पादन भएको चिया बिक्री नहुँदा किसानले बगानको हेरचाह गर्न छाडेका छन् । वर्षौँदेखि गोडमेल र छाँटकाँट हुन नसकेका चियाका बोट अहिले झाडीमा परिणत हुन थालेका छन् ।

पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका किसानले कुनै समय चियाखेतीबाट राम्रो आम्दानी हुने अपेक्षासहित अन्य बाली छाडेर चियाका बिरुवा रोपेका थिए । तर, उत्पादनले बजार र उचित मूल्य नपाएपछि उनीहरूको आशा निराशामा बदलिएको छ ।

विसं २०५५ देखि २०७२ सम्म चियाखेती विस्तार गरेका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा खेती सुरु गरेका थिए । तर, उत्पादन बिक्री नहुँदा लगानीसमेत उठाउन नसकेको उनको गुनासो छ ।

‘चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ’, उनले भने, ‘मजदुर लगाएर काम गराउँदा खर्च बढ्छ । उत्पादनको मूल्य नै नपाएपछि बगानको हेरचाह गरेर के गर्नु ?’

पाख्रीबासकै अर्का किसान धनबहादुर बस्नेतले करिब १० रोपनी क्षेत्रफलमा चियाखेती गरेका छन् । उत्पादन बिक्री नहुँदा तीन–चार वर्षदेखि बगानको गोडमेल र छाँटकाँट गर्न नसकेको उनले बताए । चियाखेतीबाट आम्दानी नहुँदा पुरानो बगान हटाएर अन्य बाली लगाउने सोच बनाए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन भएको उनको भनाइ छ ।

त्यस्तै, विमल राईले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चियाखेती गरेका छन् । तर, उद्योगले अपेक्षाअनुसारको मूल्य नदिँदा र उत्पादनको बजार सुनिश्चित नहुँदा उनी पनि समस्यामा छन् । करिब तीन वर्षदेखि बगानको नियमित हेरचाह गर्न नसकेको उनले बताए ।

प्रशोधन उद्योग बन्द भएपछि बजारको समस्या

स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यले राम्चे अग्र्यानिक चिया उत्पादक सहकारी संस्थाले केही वर्षअघिसम्म उद्योग सञ्चालन गरेको थियो । उद्योगमा किसानले उत्पादन गरेको चिया खरिद गरी ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीजस्ता विभिन्न प्रकारका चिया उत्पादन गरिन्थ्यो ।

उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानलाई उत्पादन बिक्री गर्ने भरपर्दो ठाउँ उपलब्ध भएको थियो । यसले चियाखेतीप्रति किसानको आकर्षणसमेत बढाएको थियो ।

तर, उद्योगमा विद्युत् सेवा नपुग्दा लामो समयसम्म जेनेरेटरको भर पर्नुपरेको थियो । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएपछि सञ्चालन खर्च धान्न नसकेर उद्योग बन्द भयो । त्यसपछि किसानले उत्पादन गरेको चिया खरिद गर्ने भरपर्दो ठाउँ गुमाए । उद्योग बन्द भएसँगै चियाखेतीमा निर्भर किसानको आम्दानी र रोजगारीसमेत प्रभावित बनेको छ ।

किसानले चिया उद्योग पुनः सञ्चालनका लागि स्थानीय सरकारसँग पहल गर्न माग गर्दै आएका छन् । तर, पाख्रीबास नगरपालिकाले बजेट अभावका कारण तत्काल उद्योग सञ्चालनका लागि सहयोग गर्न नसकेको जनाएको छ ।

नगरप्रमुख ज्ञानबहादुर गुरुङका अनुसार उद्योग सञ्चालनका लागि नगरपालिकामा माग आएको छ । तर, किसानले माग गरेअनुसारको ठूलो बजेट उपलब्ध गराउन नगरपालिकासँग स्रोत नभएको उनले बताए ।

वर्षौँको मेहनत र लगानीबाट तयार भएका चियाका बोट बजार अभावकै कारण उपयोगविहीन बन्न थालेपछि किसान चियाखेतीबाटै पलायन हुने अवस्थामा पुगेका छन् । उद्योग सञ्चालन, उत्पादनको उचित मूल्य र बजार सुनिश्चित नभएसम्म चियाखेतीलाई निरन्तरता दिन कठिन हुने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : २० बजे

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– महिलामाथि हुने विभेद, हिंसा र छुवाछुत अन्त्य गर्न माग

प्रशोधन उद्योग बन्द भएपछि चियाबारी झाडीमा परिणत

धनकुटा – बजार र प्रशोधन उद्योगको अभावमा धनकुटाको पाख्रिबासमा व्यावसायिक

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्‍याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध

म्याग्दी– हुरीबतासका कारण विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर

देउवा समूहले दियो शशांकलाई समिति गठनको जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने

भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

कञ्चनपुर -कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट भारततर्फ अवैध रूपमा लैजान