दोलखा– फूलको डोली, सोली, पञ्चेबाजा र परम्परागत बलि पूजाले हरेक वर्ष कात्तिक पूर्णिमामा दोलखाको जिरी नगरपालिका–८ स्थित रामबोले क्षेत्र गुञ्जायमान बन्ने गर्छ।
धार्मिक आस्था र परम्परासँग जोडिएको रामबोले कालीदेवी मन्दिरमा लाग्ने जात्रामा दोलखासहित छिमेकी जिल्ला रामेछाप र सोलुखुम्बुबाट हजारौँ भक्तजन पुग्ने गरेका छन् । प्रत्येक वर्ष कात्तिक पूर्णिमादेखि पञ्चमीसम्म विशेष पूजाआजा तथा जात्रा लाग्ने यस मन्दिरमा पछिल्ला वर्षहरूमा एकादशीदेखि नै बलि पूजा गर्ने भक्तजनको चहलपहल सुरु हुने गरेको छ ।
दुई दिन रातको समयमा र अन्य दिन दिउँसो मेला लाग्ने रामबोलेमा भक्तजनहरू फूलको डोली, सोली र परम्परागत बाजागाजासहित देवीको दर्शन गर्न पुग्छन् । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अनुसार यस वर्ष एकादशीदेखि पूर्णिमासम्म मात्रै १० हजारभन्दा बढी भक्तजन रामबोले पुगेका छन् ।
जात्राको मुख्य दिन मंगलबार पूर्णिमामा मात्रै करिब पाँच हजार भक्तजनले कालीदेवीको दर्शन गरेका थिए। यस वर्ष दुई हजारभन्दा बढी पाठी, परेवा र भालेको बलि पूजा भएको समितिले जनाएको छ ।

विशेषगरी फूलको डोली र सोली बोकेर मन्दिर पुग्ने भक्तजनको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ । आफ्नो मनोकामना पूरा होस्, परिवारमा सुख, शान्ति र समृद्धि छाओस् तथा रोगव्याधिबाट मुक्ति मिलोस् भन्ने धार्मिक विश्वासका साथ भक्तजनले देवीको भाकल गर्ने र भाकल पूरा भएपछि पूजाआजा गर्ने परम्परा छ ।
रामबोलेस्थित कालीदेवी मन्दिरलाई स्थानीयस्तरमा परापूर्वकालदेखिको आस्थाको धरोहरका रूपमा लिने गरिन्छ । जिरी उपत्यका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने जिरेल, सुनुवार, शेर्पा, तामाङ र क्षेत्री–बाहुन समुदायले पुस्तौँदेखि यस जात्रालाई निरन्तरता दिँदै आएका छन् ।
स्थानीय किंवदन्तीअनुसार प्राचीन समयमा यस क्षेत्रमा गोठालाहरूले गाईवस्तु चराउने क्रममा एउटा शिलामा अलौकिक शक्ति रहेको अनुभूति गरेका थिए । सोही शिलालाई कालीदेवीको स्वरूप मानेर पूजाआजा गर्न थालिएपछि यस क्षेत्रको धार्मिक महत्त्व बढ्दै गएको जनविश्वास छ । संकट र विपत्तिमा देवीको नाम पुकार्दा भक्तको आवाज सुनेर रक्षा गर्ने विश्वाससँग जोडेर रामबोले नाम रहन गएको भन्ने स्थानीय जनश्रुति पनि छ ।

जात्राको अर्को विशेष आकर्षण सोली–डोली, धामी तथा झाँक्रीको नाच र परम्परागत पञ्चेबाजा हुन् । भक्तजनले धूप, ध्वजा, अक्षता, फूल चढाउनुका साथै आफ्नो भाकलअनुसार पाठी, परेवा र भालेको बलि दिने गर्छन् ।
धार्मिक आस्था, स्थानीय संस्कृति र पुस्तौँदेखिको परम्परालाई निरन्तरता दिँदै आएको रामबोले जात्रा जिरी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ । सुवाश बस्नेत/ दोलखा














प्रतिक्रिया