उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री साह « Khabarhub

उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री साह


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उद्योग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री साहले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत जटिलता र नीतिगत अस्पष्टता हटाउन सरकारले पहल गरिरहेको बताए ।

उनले उद्योगीका समस्या पहिचान, समाधान र लगानी प्रवर्द्धनमा सहजीकरण गर्ने उद्देश्यले उद्योग मन्त्रालयमा स्वदेशी लगानीकर्ता सहजीकरण कक्षको शुभारम्भसमेत गरे । उक्त कक्षमार्फत उद्योगीका गुनासा सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समस्या समाधानका लागि व्यावहारिक पहल गरिने उनको भनाइ थियो ।

मन्त्री साहले उद्योग क्षेत्रको विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका साथै आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले आर्थिक वृद्धिलाई उत्पादनशील, समावेशी र उत्थानशील बनाउनुपर्नेमा जोड दिए । उद्योग क्षेत्रको योगदान बढाउन प्रतिस्पर्धात्मक क्षमता भएका क्षेत्रको पहिचान, नीतिगत सुधार, लगानी विस्तार र उद्यमशीलता प्रवर्द्धन आवश्यक रहेको उनले बताए ।

उद्योग मन्त्रालयका सचिव रुद्रसिंह तामाङले औद्योगिक क्षेत्रका समस्या समाधानका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र संवाद आवश्यक रहेको बताए । उद्योगीका सुझाव तथा व्यावहारिक अनुभवलाई नीतिगत सुधारसँग जोड्दै औद्योगिक र लगानीसम्बन्धी अवरोध हटाउन सरकारी संयन्त्रलाई प्रभावकारी बनाइने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले उद्योग स्थापना तथा सञ्चालन प्रक्रियालाई सरल, डिजिटल र स्वचालित बनाउनुपर्ने बताए । उत्पादन तथा निर्यात क्षमता वृद्धि, गुणस्तर परीक्षण र प्रमाणीकरण प्रणालीको सुदृढीकरण तथा व्यापार र पारवहन पूर्वाधार विस्तारले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने उनले उल्लेख गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उत्पादन, लगानी र उद्यमशीलता आर्थिक समृद्धिका आधार भएकाले तिनको विकास र प्रवर्द्धनमा जोड दिए । उद्योगीले भोगिरहेका प्रशासनिक जटिलता, उच्च उत्पादन लागत तथा औद्योगिक जग्गा र पूर्वाधारसम्बन्धी समस्या समाधान गर्न सरकारले सहजीकरणकर्ताको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक वातावरण सुधार, नीतिगत स्थायित्व, कानुनी स्पष्टता र लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।

घरेलु तथा साना उद्योग महासङ्घकी अध्यक्ष शोभा गुरुङले घरेलु, साना तथा मझौला उद्यमको वास्तविक तथ्याङ्क सङ्कलन, वित्तीय पहुँच विस्तार र स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिइन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि स्पष्ट नीतिगत, कानुनी र संस्थागत व्यवस्था आवश्यक रहेको बताए ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय निर्यात गर्ने स्वदेशी कम्पनीतर्फ आरएमसी फुड्स प्रालि र बहुराष्ट्रिय कम्पनीतर्फ डाबर नेपाल प्रालिलाई सम्मान गरिएको थियो ।

त्यस्तै, सबैभन्दा बढी विदेशी लगानी प्राप्त गर्ने कम्पनीका रूपमा एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि, सबैभन्दा बढी स्वदेशी लगानी गर्ने कम्पनीका रूपमा मुक्तिनाथ दर्शन लिमिटेड र सफल स्टार्टअप उद्यमीका रूपमा सुष्मा शर्मालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : १८ बजे

सङ्खुवासभाका छ उद्यमी सम्मानित

सङ्खुवासभा– घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना

भारत–बङ्गलादेश तनावबीच आइपीएल लिलामीमा १२ बङ्गलादेशी खेलाडी

काठमाडाैँ– भारत र बङ्गलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला इन्डियन प्रिमियर लिग

विवाहित महिलाले जितिन् ‘मिस युनिभर्स २०२६’ को ताज

काठमाडाैँ – मिस युनिभर्सको इतिहास रच्दै जेनिफर ब्यारेटो ‘मिस युनिभर्स

लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान (शुभकामना सन्देशसहित)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लैङ्गिक हिंसा अन्त्यका लागि

यौन हिंसासम्बन्धी विधेयक संशोधन गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरूले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो रहेको भन्दै आवश्यक