काठमाडाैँ – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार तीन मुख्य आधार देखाउँदै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो।
इजलासले अन्तरिम आदेश नदिनुको पहिलो आधारमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीले कात्तिक १८ गते नै बढुवा भई नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको तथ्यलाई औँल्याएको छ।
दोस्रो आधारमा प्रहरी सङ्गठनको नेतृत्व देशको शान्ति सुरक्षासँग जोडिएको सार्वजनिक महत्त्वको संवेदनशील विषय भएको उल्लेख गरिएको छ।
त्यस्तै, तेस्रो आधारमा निवेदकले उठाएका कानुनी प्रश्नहरूको निरूपण अन्तिम सुनुवाइबाटै हुने प्रकृतिको देखिएको र सुविधा सन्तुलनको दृष्टिकोणबाट पनि हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको आदेशमा भनिएको छ।
अन्तरिम आदेश अस्वीकार गरे पनि अदालतले रिट निवेदनको गाम्भीर्यलाई ध्यानमा राख्दै अग्राधिकारका साथ सुनुवाइ गर्न आदेश दिएको छ। आदेशमा विपक्षीहरूबाट लिखित जवाफ पेस भएपछि वा जवाफ पेस गर्ने अवधि नाघेको सात दिनभित्रै पेसी चढाउन र उक्त पेसी स्थगित गर्न नपाउने पूर्वसूचना दुवै पक्षलाई दिन भनिएको छ।
गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी नेतृत्वबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै मनोज केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध कार्की कात्तिक १९ गते सर्वोच्च अदालत पुगेका थिए। सरकारको यो कदमलाई विसं २०५३ चैत २१ गते तत्कालीन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले आईजीपी अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई नियुक्त गरेको घटनासँग तुलना गरेर हेरिएको छ।














प्रतिक्रिया