काठमाडौं– सामाजिक सञ्जालमा पछिल्लो समय हरेक विषयमा ज्ञान बाँड्ने र अरूलाई उपदेश दिनेहरूको कमी छैन । यही प्रवृत्तिमाथि अभिनेता तथा हास्यकलाकार दीपकराज गिरीले आफ्नो व्यंग्यात्मक शैलीमा कटाक्ष गरेका छन् ।
गिरीले फेसबुकमा शुभप्रभात सन्देश लेख्दै सामाजिक सञ्जालको उदयसँगै लाखौँ ‘सुकरात, ओशो र बुद्ध’ जन्मिएको भन्दै व्यंग्य गरेका हुन् ।
उनले लेखेका छन्, ‘सामाजिक सञ्जालको उदयसँगै जन्मनुभएका लाखौँ जिउँदा सुकरात, ओशो र बुद्धहरूमा साष्टाङ्ग दण्डवत् तथा प्रणाम ! हामी सम्पूर्णको जीवन यहाँहरूको ज्ञानको ज्योतिले प्रज्वलित बनिरहोस् । शुभदिन !’
उनको यो सन्देश हेर्दा शुभप्रभातको शुभकामना जस्तो लागे पनि शब्दभित्र सामाजिक सञ्जालका कथित ज्ञानीहरूमाथिको चोटिलो व्यंग्य लुकेको छ । आफूलाई सबै विषयको जानकार ठान्ने, अरूलाई निरन्तर उपदेश दिने र जीवनका हरेक समस्याको समाधान आफूसँगै रहेको शैलीमा प्रस्तुत हुने प्रवृत्तिलाई उनले हास्यात्मक ढंगले प्रश्न गरेका छन् ।
सुकरात, ओशो र बुद्धजस्ता महान् चिन्तकहरूको नाम जोड्दै गिरीले सामाजिक सञ्जालमा देखिने ज्ञानको आडम्बरमाथि कटाक्ष गरेका हुन् । उनको व्यंग्यले ज्ञान बाँड्नु गलत होइन, तर त्यसका नाममा आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति कति उचित छ भन्ने प्रश्न उठाएको छ ।
समसामयिक विषयलाई हास्यव्यंग्यका माध्यमबाट प्रस्तुत गर्न रुचाउने गिरीको यो स्टाटस पनि सामाजिक सञ्जालमा बढ्दो उपदेश र आत्मप्रशंसाको प्रवृत्तिमाथि गरिएको अर्को व्यंग्यात्मक टिप्पणीका रूपमा देखिएको छ ।

















प्रतिक्रिया