राष्ट्रियसभा चुनाव: कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने | Khabarhub Khabarhub

राष्ट्रियसभा चुनाव: कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— राष्ट्रिय सभाको माग ९ मा हुने चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् ।

नेकपा र राजपाबीच सहमति भएसँगै प्रदेश दुई बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २/२ सिट बाँडफाँट गरेका छन् । यससँगै राजपाले यसअघिको आफ्नो दुई सिट जोगाउने भएको छ ।

यसअघि प्रदेश २ बाट छानिएकामध्ये राजपाका दुईजना र कांग्रेस/समाजवादीका १/१ सीटमा यसपालि नेकपा र राजपाले २/२ सीट लिने गरी प्रदेश २ का लागि गठबन्धन गरेका हुन् ।

राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि रिक्त हुने स्थानका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।

प्रदेश १ को प्रदेशसभाका ९३ सदस्यमध्ये ६६ जना र स्थानीय तहका २ सय ७४ जना मतदातामध्ये १७० नेकपाका छन् । त्यहाँ कांग्रेसको प्रदेशसभा सदस्य २१ र स्थानीय तहका ८९ मतदाता छन् । प्रदेशसभामा समाजवादी ३, राप्रपा १, संघीय लोकतान्त्रिक मञ्च १ र स्वतन्त्र १ छन् । स्थानीय तहमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का ७, राप्रपा र समाजवादीका ४/४ जना मतदाता छन् ।

त्यहाँबाट निर्वाचित नेकपाका खेमराज नेपाली, हरिचरण सिवाकोटी र कांग्रेसका सरिता प्रसार्इंको दुईवर्षे कार्यकाल सकिन लागेको हो । उक्त प्रदेशबाट महिला १, दलित १ र अन्यबाट १ जनाका लागि चुनाव हुँदै छ ।

प्रदेश २ मा राजपाका वृषेशचन्द्र लाल र रमेशप्रसाद यादव, कांग्रेसकी मुक्ताकुमारी यादव र समाजवादी पार्टीका रामपृत पासवानको कार्यकाल सकिने भएपछि चार पदका लागि चुनाव हुँदै छ ।

नेकपा र राजपाको गठबन्धनसित प्रदेश २ मा बहुमत छ । प्रदेशसभाका १ सय ७ सदस्यमध्ये राजपाका २५ र नेकपाका ३२ जोड्दा ५७ मत एक ठाउँमा भएको छ ।

स्थानीय तहका कुल २ सय ७२ मतदातामध्ये नेकपाका ८३ र राजपाका ५४ जोड्दा १ सय ३७ पुग्छ । त्यहाँ प्रदेशसभामा कांग्रेसका १९, समाजवादीका २९, संघीय समाजवादी १ र स्वतन्त्र १ सदस्य छन् । स्थानीय तहमा कांग्रेसका ७५, समाजवादीका ५२, तत्कालीन फोरम लोकतान्त्रिकका ६, जनता दलका २ जना मतदाता छन् ।

प्रदेश ३ मा १ जना महिला र १ जना अन्य समूहका गरी दुई पदका लागि चुनाव हुन लागेको छ । त्यहाँ नेकपाबाट निर्वाचित बलरामप्रसाद बाँस्कोटा र कांग्रेसबाट निर्वाचित धनकुमारी खतिवडाको पदावधि सकिन लागेको हो । उक्त प्रदेशमा पनि नेकपा बहुमतमा छ ।

प्रदेशसभाका १ सय १० सिटमा ८० जना नेकपाका छन् । स्थानीय तहका २ सय ३८ मध्ये १ सय ६६ नेकपाका मतदाता छन् । सामान्य हिसाबले पनि नेकपाले दुइटै सिट जित्नेछ ।

प्रदेशसभामा कांग्रेसका २२, राप्रपाका १, विवेकशील साझाका ३, समाजवादीका १, नेमकिपाका २, राप्रपा (प्र) का १ जना छन् । स्थानीय तहमा कांग्रेसका ६७, राप्रपा २, नेमकिपा २ र समाजवादीको १ जना मतदाता छन् ।

गण्डकी प्रदेशमा राष्ट्रिय सभामा रिक्त हुने महिला र अन्य समूहबाट १–१ जनाका लागि चुनाव हुँदै छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे र विन्दा देवी आले (राना) को पदावधि सकिन लागेको हो ।

उक्त प्रदेशमा पनि नेकपाको सहज बहुमत छ । प्रदेशसभाका ६० सदस्यमध्ये ३९ जना नेकपाका छन् । स्थानीय तहका १ सय ७० मध्ये ८२ जना मतदाता नेकपाका छन् ।

प्रदेशसभामा कांग्रेसका १५, समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ जना छन् । स्थानीय तहमा कांग्रेस ८१, राप्रपा २, जनमोर्चा ३ र स्वतन्त्र २ जना छन् । स्थानीय तहमा कांग्रेस नेकपाको मत बराबरी देखिए पनि प्रदेशसभा सदस्य र स्थानीय तहको मतभार ३० ले फरक रहेकाले नेकपा सहज बहुमतमा छ ।

प्रदेश ५ बाट निर्वाचित नेकपाका मीना बुढा, राजकुमार कुँवर र कांग्रेसका दुर्गाप्रसाद उपाध्यायको पदावधि सकिन लागेको छ । त्यहाँ महिला, अल्पसंख्यक र अन्य समूहबाट १/१ जनाका लागि निर्वाचन हुँदै छ ।

प्रदेशसभा र स्थानीय तहका कुल मतदातामध्ये नेकपा सहज बहुमतमा छ । प्रदेशसभाका कुल ८७ सदस्यमध्ये नेकपाका ६१ जना छन् । स्थानीय तहका २ सय १८ मतदातामध्ये नेकपाका १ सय ३१ जना छन् ।

प्रदेशसभामा कांग्रेसका १९, समाजवादीका ५, राजपाका १ र जनमोर्चाका १ जना छन् । स्थानीय तहमा कांग्रेसका ६४, समाजवादीका १२, जनमोर्चाका ४, स्वतन्त्र ३, राप्रपाका २, फोरम (लोकतान्त्रिक) का २ जना मतदाता छन् ।

कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा रिक्त हुने नेकपाका युटोल तामाङ र कालीबहादुर मल्लको स्थान पूर्तिका लागि चुनाव हुन लागेको छ । त्यहाँ महिला र अन्य समूहबाट १/१ जना चुनिने छन् । प्रदेशसभाको कुल ४० सदस्यमध्ये ३३ जना नेकपाका छन् । प्रदेशसभामा कांग्रेसका ६ र राप्रपाका १ जना छन् ।

स्थानीय तहका १ सय ५८ जना मतदातामध्ये नेकपाका १ सय १० र कांग्रेसका ४० जना छन् । राप्रपाका २ र स्वतन्त्रका ६ जना छन् ।
प्रदेश ७ मा पनि राष्ट्रिय सभाका २ सदस्यका लागि चुनाव हुन लागेको छ ।

त्यहाँबाट निर्वाचित नेकपाका कमलाकुमारी वली र कांग्रेसका बद्रीप्रसाद पाण्डेको दुईवर्षे पदावधि सकिन लागेको छ । महिला र अन्य समूहबाट १/१ सिटका लागि हुन लागेको चुनावमा नेकपाले सहजै बहुमत ल्याउने देखिन्छ ।

प्रदेशसभाका ५३ मध्ये ३९ सदस्य नेकपाका छन् । स्थानीय तहका कुल १ सय ७६ मतदातामध्ये १ सय २ जना नेकपाका छन् । प्रदेशसभामा कांग्रेसका १२ र राजपाका २ जना सदस्य छन् । स्थानीय तहमा कांग्रेसका ७२ र तत्कालीन फोरम (लोकतान्त्रिक) का २ जना मतदाता छन् ।

राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छन् ।

प्रदेशगत रूपमा रिक्त स्थानका लागि त्यही प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशगत रूपमै निर्वाचन आयोगले सञ्चालनमा ल्याउने निर्वाचन कार्यालयमा मतदान हुनेछ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ ।

यसपटक प्रदेशगत रूपमा प्रत्येक समूहबाट एक/एक जना मात्रै चुनिने भएकाले बहुमत ल्याउने उम्मेदवारले चुनाव जित्नेछन् । यसअघि एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणालीबाट मतदान भएको थियो ।

एक जना सदस्यमात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै तथा महिला र अन्य समूहको ३/३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १० : ५८ बजे

बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली

काठमाडौं- बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन

सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ

तनहुँ– जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई

लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति 

लस एन्जलस- अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव

 महोत्तरी- जनयुद्धको  विषयमा चौतर्फी चर्चा भइरहेको बेला माओवादीहरू एक ठाउँमा

न्यायाधीशसँग रविको आग्रह : तारेखमा छुट्न पाए सहकारी पीडितलाई न्याय दिन्थेँ

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय