पारिवारिक छुट्टीको पीडादायक संयोग: ग्यास हिटरले लियो ८ पर्यटकको ज्यान | Khabarhub Khabarhub

पारिवारिक छुट्टीको पीडादायक संयोग: ग्यास हिटरले लियो ८ पर्यटकको ज्यान


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परेका भनिएका ८ जना भारतीयको रिसोर्टकै कोठामा मृत्यु भएको खुलेको छ ।

सोमबार साँझ दामन पुगेका ८ जना भारतीय पर्यटक मंगलबार बिहान ‘अचेत अवस्थामा’ फेला परेका थिए ।

अचेत अवस्थामा फेला परेको भन्दै उपचारका लागि काठमाडौं पुर्‍याएपनि चिकित्सकले भने होटेलकै कोठामा उनीहरुको मृत्यु भइसकेको बताएका छन् ।

मंगलबार बिहान पानोरमा रिसोर्टको कोठामा नम्बर १०४ मा ‘अचेत अवस्थामा’ फेला परेका उनीहरुलाई स्थानीय प्रहरीको समन्वयमा हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स हस्पिटल (अस्पताल) पुर्‍याइएको थियो ।

तर, अस्पताल पुग्नुभन्दा अगाडि नै उनीहरुको मृत्यु भइसकेको ह्याम्स हस्पिटलको आकस्मिक सेवा विभागका प्रमुख डाक्टर कमल थापाले जानकारी दिए ।

‘मंगलबार बिहान हामीलाई ८ जना पर्यटकको उद्दार गरी उपचारका लागि हेलिकोप्टरमार्फत ल्याइँदैछ भन्ने जानकारी आएको थियो । उपचारका लागि ल्याउने भन्ने सूचना आएपछि हामीले सोहीअनुसार तयारी पनि गरेको थियौं,’ ह्याम्स हस्पिटलको आकस्मिक सेवा विभागका प्रमुख डा थापाले भने, ‘अस्पताल ल्याइएपछि हामीले उहाँहरुको वैज्ञानिक रुपमा परीक्षण गर्‍यौं । परीक्षण गर्ने क्रममा उहाँहरु आठै जनाको पहिले नै मृत्यु भइसकेको पाइयो ।’

मृत्यु हुनेमा भारतीय राज्य केरला घर भएका ३९ वर्षीय प्रविण कृषन नायर, उनकी श्रीमती ३४ वर्षीया सरिया, ८ वर्षीया छोरी श्रीभद्रा, ६ वर्षीया छोरी आर्चा र ५ वर्षीय छोरा अभिनव छन् । मृत्यु हुने अन्यमा ३९ वर्षकै रञ्जित कुमार उनकी श्रीमती ३४ वर्षीया इन्दु रञ्जित र छोरा २ वर्षीय वैष्णव छन् ।

प्रहरीका अनुसार उनीहरु केही दिन अगाडि मात्रै पारिवारिक छुट्टी मनाउन भन्दै नेपाल भ्रमणमा आएका थिए । केही दिन पोखरा घुमेर काठमाडौं हुँदै सोमबार दामन पुगेका थिए ।

काठमाडौंबाट दामन पुगेका ८ जनामध्ये ३ जनाले सोमबार साँझ रिसोर्टकै बारमा मदिरा समेत सेवन गरेका थिए ।

‘मदिरा उहाँहरु आफैंले बोकेर ल्याउनुभएको थियो । हामीले स्न्याक्स मात्रै सर्भ गरेका थियौं,’ दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका एक कर्मचारीको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक अधिकारीले भने, ‘जाडो भएको भन्दै राति ग्यास माग्नु भएको रहेछ । कोठामा इलेक्ट्रिक (विजुलीबाट तात्ने) बेड छ भन्दाभन्दै पनि उहाँहरुले ग्यास हिटर बाल्नुभयो ।’

प्रहरीका अनुसार मृतक ८ जनासँगै अन्य ७ जना गरी १५ जना भारतीय पर्यटक सोमबार दामन पुगेका थिए । जसमध्येका १ जना मंगलबार ह्याम्स अस्पताल पुगेका थिए ।

ह्याम्स अस्पताल पुगेका मृतक पर्यटकका (साथी)ले पनि उनीहरु सोमबार राति ग्यास हिटर बालेर सुतेको जानकारी दिएका डा थापाले बताए ।

‘यहाँ पुर्‍याइएका ८ जना (मृतक) पर्यटकलाई ल्याएर हेलिकोप्टरमा उहाँहरुको १ जना साथी पनि आउनुभएको थियो,’ डा थापाले भने, ‘उहाँले बताएअनुसार ८ जनानै सोमबार राति खाना खाइसकेपछि कोठामा ग्यास हिटर बालेर सुत्नुभएको रहेछ ।’

डा. थापाले उनीहरुको मृत्यु ग्यास हिटरकै कारण निस्सासिएर भएको हुनसक्ने बताए । ‘कोठाका सबै झ्याल ढोका पूरै बन्द गरेर ताप उत्सर्जन गर्ने कुनै पनि बस्तु बाल्दा निसासिने समस्या हुन्छ,’ डा. थापाले भने, ‘हिटरका कारण कार्बनाडाइअक्साइड, कार्बनमनोअक्साइड ग्यास उत्पादन भएर कोठामा सुतेका व्यक्तिले थाहा नै नपाइ आफ्नो होस गुमाउने अवस्था सिर्जना हुन पुग्छ । जसका कारण मानिसको मृत्यु नै हुन्छ ।’

शव परीक्षणका लागि टिचिङ अस्पतालमा

दामको रिसोर्टमा मृत्यु भएका आठै जना भारतीय पर्यटकको शव परीक्षणका लागि अहिले त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्ज लगिएको छ ।

यद्यपि शव परीक्षणको प्रक्रिया भने शुरु हुन सकेको छैन । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार आवश्यक कागजपत्र नआएका कारण शवको परीक्षण (पोस्टमार्टम) प्रक्रिया अगाडि नबढेको हो ।

‘८ जना भारतीय पर्यटकको शव यहाँ ल्याइएको छ । तर, आवश्यक पर्ने कागजपत्रहरु केही पनि नभएका कारण पोस्टमार्टमो प्रक्रिया भने शुरु भएको छैन,’ त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका एक चिकित्सकले खबरहबसँग भने, ‘पोस्टमार्टमको काम भोलि (बुधबार)बाट शुरु हुन्छ होला ।’


तस्वीरहरु– अदिप श्रेष्ठ/खबरहब

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ३ : २४ बजे

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन